उदयपुर : कटारी नगरपालिका-८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा १० प ४१८८ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु र पाँचजना घाइते भएका छन्।
सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा जीप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिप दुर्घटनामा गम्भीर घाइते कटारी-८ बिजुलेका ३८ वर्षीय घाइते विक्रम मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै‚ अन्य घाइतेमा कटारी मरुवाका ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षका चन्द्र श्रेष्ठ, गीता श्रेष्ठ, पाँच वर्षीय बालक मनोज खड्का, कटारी पटना भञ्ज्याङका ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया बेदकुमारी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
चालक कटारीकै ३८ वर्षीय प्रेमबहादुर श्रेष्ठ फरार छन् । घाइतेहरूको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय उदयपुरले बताएको छ ।