धरानः धरानमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीब्र गतिमा फैलिरहेको छ । धरानमा घरपिच्छेजसो यसको सङ्क्रमित रहेको चिकित्सकहरुको दावी छ ।
अहिले अस्पतालमा पनि खासै चाप नभएको चिकित्सकहरुले बताएका छन् । यसअघिका दुई भेरियन्टको बेला अस्पतालसमेत भरिभराउ थिए । पहिलो र दोस्रो लहरको बेला भुइँमा समेत बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था रहेको थियो । त्यसको तुलनामा अहिले न्यून मात्रामा सङ्क्रमित अस्पताल भर्ना भएको चिकित्सकहरु बताउँछन् ।
धरानमा जो इच्छुकले परीक्षण गराए उनीहरुको मात्रै अहिले डाटा आइरहेको छ । चिकित्सकका अनुसार धरानमा ‘सामान्य भाइरस हो’ भन्दै जाँच गर्नेको संख्यामा कमी आएको छ । माघ ३ गतेसम्ममा धरानमा ८८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
के भन्छन् धरानस्थित बीपी प्रतिष्ठानका चिकित्सक ?
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा। चुरामणि पोखरेल दिनहुँजसो संक्रमित आइरहेको बताउँछन् । उनले गम्भीर प्रकृतिका ९सास फेर्न अप्ठ्यारो, आइसियु चाहिनेलगायत० बिरामी बढिरहेको जानकारी दिए । ‘खासमा अहिले लगभग १५ बिरामी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भइसक्नुभएको छ’, उनले भने, ‘यी सबै गम्भीर प्रकृतिका बिरामी हुन् ।’
यसकारण घट्यो अस्पतालमा चाप !
यसपटकको कोरोना सङ्क्रमणले दोस्रो लहरको जस्तो घातक असर नदेखाएकाले बिरामीको चाप घटेको उनी बताउँछन् ।
‘दिनहुँजसो बिरामी आइरहनुभएको छ’, उनले थपे, ‘तर प्रायःमा सङ्क्रमण ‘सिभियर’ नै छ, आउने बिरामीहरु अक्सिजन नचाहिने खालको हुनुहुन्छ, त्यसकारणले गर्दा पनि भर्ना हुनुभन्दा घरमै बस्न सल्लाह दिइरहेका छौं, त्यसैले अस्पतालमा चाप घटेको हो ।’
उनले ओमिक्रोन संक्रमित रहेपनि धेरैजसो चेकजाँच नगरी घरमै बसिरहेको बताए । ‘यो सामान्य भाइरस हो भन्दै धेरैजसो जँचाउन नआइ घरमै बसिरहनुभएको समेत पाइएको छ’, उनी भन्छन् ।
उनका अनुसार अघिल्लो लहरले मानिसको फोक्सोमा सिधा असर वा आक्रमण गर्ने गरेकाले उनीहरुलाई अक्सिजन र आइसियु चाहिने गरेको थियो । त्यतिबेला अस्पतालमा बिरामीको चाप बढेको हो । ‘अनुसन्धानले पनि भनेको छ, फोक्सोमा अलि कम असर गर्छ, स्वासप्रश्वासमा समस्या हुँदैन’, उनले थपे, ‘अहिले फोक्सोमा असर कमै देखिएको छ, श्वासप्रश्वासमा पनि समस्या आएको पाइएको छैन ।’
यसपालि प्रायःलाई जिउ दुख्ने, घाँटीमा खसखस हुने, सामान्य किसिमको ज्वरो आउने लक्षण मात्रै देखिएको पाइएको छ । ‘यसले सामान्य लक्षण मात्रै देखाएको छ, त्यो पनि छिट्टै निको हुनेजस्तो देखिएकोले खासै अस्पताल धाउनुपर्नेजस्तो देखिएको छैन, घरमै बसेर आराम गर्दा पनि निको भइहाल्छ नि भन्ने जनमानसमा ‘कन्सेप्ट’ बसेको छ ।’
‘ओमिक्रोनलाई कम आँक्नु भएन’
यसअघिका लहरमा धेरैले कोरोनालाई ‘सिरियस’ नै लिएका थिए तर ओमिक्रोनलाई अहिले अधिकांशले हल्कारुपमा लिइरहेको र हल्कारुपमा लिन नहुने उनको तर्क छ ।
उनले यो छिटो छिटो सर्ने र ओमिक्रोनलाई ४–५ दिनमा निको हुन्छ भन्न नमिल्ने बताए । ‘खासमा अहिले यसलाई ४–५ दिनमा निको हुने भनिन्छ तर त्यसो भन्न मिल्दैन किनभने यसको दीर्घकालीन असर पनि देखिरहेको हुन्छ ।’ उनले यसले कुन अङ्गमा असर गर्छ भन्नेबारेमा यकिन डाटा आइनसकेको बताए । ‘यसले थप कुन अङ्गमा कसरी असर गर्दैछ, यसको डाटा आउन बाँकी नै छ’, उनले भने, ‘तर यसले दीर्घकालीन असर पनि गर्ने देखिन्छ ।’
सङ्क्रमणको हिसाबले बढी आक्रमण हो ओमिक्रोन । भाइरल बढ्यो भने रिस्क हुन्छ भन्ने कुरा धेरैलाई थाहा छैन । जस्तैः उनका अनुसार भाइरल एकपछि अर्कोपटक पनि नसर्ला भन्न सकिन्नँ । पटक-पटक भाइरल सरे भाइरल लोड बढ्छ । यस्तै, छिट्टै सर्ने यो भाइरस धेरैमा सर्दै गए यो दीर्घकालीन असर देखिन्न सक्छ ।
उनले ओमिक्रोनका बिरामीको ‘सिटी भ्यालु’ घट्दै गएको बताए । उनले भाइरल लोड बढी हुँदै गए सिटी भ्यालु स्वतः घट्ने जानकारी दिए । उनले संख्यात्मक वृद्धि हुँदै गर्दा गम्भीर लक्षणका बिरामीको संख्या पनि बढ्दै जाने बताए । ‘मानिसहरुको सिटी भ्यालु एकदम कम हुँदै आएको छ’, उनले भने, ‘यो भनेको भाइरल लोड बढी भएरै हो नि ।’
लक्षण
उनका अनुसार ओमिक्रोन भेरियन्टमा रुघाखोकी लाग्ने, घाँटी खसखस हुने, ज्वरो आउने ९अत्याधिक ज्वरो होइन०, जीउ ताते जस्तो हुने, थकान लाग्ने, मांसपेशी दुख्ने आदि लक्षण देखिन्छ । यस्तै, नाकबाट पानी बग्ने, टाउको दुख्ने, शरीर गल्ने ९मध्यम वा गम्भीर स्तरको० नाकबाट पानी बग्ने, हाच्छिउँ आउने, घाँटी दुख्ने पनि हुनसक्छ ।
डा. पोखरेलको सुझाव
संक्रमितको सम्पर्कमा आएको थाहा पाए आफूलाई आइसोलेट गरौं, कन्ट्रयाक्ट ट्रेसिङ र टेष्टको दायरा बढाएर सकेसम्म धेरै संक्रमितलाई पहिचान गरौं, खोप अभियान तीब्र बनाऔं । मास्कको प्रयोग बढाऔं, फेरि लकडाउन हुन नदिन सकेसम्म सबै लागौं । यसपालि अलि बढी जागरुक बनौं ।