धरानः पुसमा सबैभन्दा धेरै घरजग्गा कारोबार सुनसरीको इनरुवामा भएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट पुसमा ३२ सय ५० लिखत पारित भएको छ । पूर्वी नेपालमा पछिल्लो समय धेरै लिखत पारित हुनेमा इनरुवा अघि देखिन्छ । इनरुवापछि मोरङको बेलवारी मालपोतमा ३०५९ लिखत पारित भएको छ ।
मंसिरमा सबैभन्दा धेरै लिखत पारित मोरङको बेलवारी मालपोत कार्यालयले गरेको थियो । बेलबारीले मंसिरमा ३०८७ लिखत पारित गरेको थियो । बेलबारीपछि इनरुवाले ३०४१, भद्रपुरले २५८८, विराटनगरले १४३४ लिखत पारित गरेको थियो ।
पुसमा झापाको भद्रपुर मालपोतमा २७५५, बाँकेको नेपालगञ्जमा २४११, धनुषाको जनकपुर मालपोत कार्यालयले २२७६ लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । जनकपुर पछि भक्तपुर मालपोतमा २०८५, लगनखेलमा १९६५, काभ्रेमा १७६१ र कलंकी मालपोतमा १६९९ लिखत पारित भएको विभागले जनाएको छ ।
त्यसैगरी, चितवनमा १६७४, मकवानपुरमा १६६६, कलैयामा १४६३, विराटनगरमा १४५६ र दमक मालपोतबाट १४३४ लिखत पारित भएको देखिन्छ । पुसमा महोत्तरीको जलेश्वर मालपोतले १३६९, राजविराजमा १३२२, तुलसीपुरमा १२७६, धनगढीमा १२६६, पर्सामा १२५८ लिखत पारित भएको विभागले जनाएको छ ।
यस्तै, सर्लाहीको मलंगवा मालपोतमा १२३९, दाङको घोराहीमा १२३३, कपिलवस्तुको तौलिहवामा ११९२, रुपन्देहीमा ११८१, साँखुमा ११६०, परासीमा १०९२, सिराहामा १०५७ लिखत पारित भएको विभागले जनाएको छ ।
विभागले पुसमा देशभरका मालपोत कार्यालयमा ७० हजार १६८ लिखत पारित भएको जनाएको छ । तरलता अभावकाबीच पुसमा भने घरजग्गाबाट राज्यले गर्ने आम्दानी घटेको छ । गत कात्तिकमा ओरालो लागेको घरजग्गा कारोबार मंसिरमा उकालो लागेको थियो । मंसिरमा घरजग्गा कारोबारबाट राज्यले सात अर्ब ६ करोड ६५ लाख रुपैयाँ संकलन गरेकोमा पुसमा घटेर ६ अर्ब ७० करोड रुपेयाँमा ओर्लिएको भूमि व्यवस्थापन विभागले जनाएको छ ।
