धरानः अनेरास्ववियू क्रान्तिकारीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।
नेपाल आयल निगमले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी कोभिड-१९ बाट ग्रसित नेपाली जनतालाई आहत दिने काम गरेको भन्दै क्रान्तिकारीले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।
अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति जारी मूल्यवृद्धिको विरोध गरेका हुन् । आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा तीन-तीन रुपैयाँका दरले, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर एक सय अमेरिकी डलर मूल्य बढाएको थियो ।
‘शेरबहादुर देउवा नेतृत्वको सरकारले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर कोभिड-१९ बाट प्रताडित नेपाली जनताको ढाड सेक्ने काम गर्दै आइरहेको छ । उक्त कार्यको हाम्रो संगठन घोर निन्दा एवं भत्सर्ना गर्दछ, जसले जनताको दैनिकी चल्न नसक्ने र चुल्होसमेत नबल्ने अवस्था सिर्जना हुन पुगेको छ, जसकारण पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार र नेपाल आयल निगमसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
पुतला दहन
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले काठमाडौंको अमृत साइन्स क्याम्पसमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । मूल्यवृद्धिको विरोधमा अस्कल क्याम्पस परिसरमा अनेरास्ववियुका विद्यार्थीले प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् ।
पुत्ला दहन रोक्नका लागि प्रहरीले प्रदर्शनकारी विद्यार्थीमाथि लाठी प्रहार गरेको थियो । विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।