बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा अर्जुन्धारा नगरपालिका–१० का २३ वर्षीय सुदिप ठकुरी, २३ वर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका–४ का २७ वर्षीय पूर्णलाल लिम्बू रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ५ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगर बरामद गरेको हो । लागूऔषधसहित पक्राउ परेका तीनैजनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, पाँचथरको फिदिम नगरपालिका–१ स्थितबाट ८ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना महिलालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका–१ कि ३२ वर्षीया देवी लकान्द्री रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लकान्द्रीको कोठा चेकजाँच गर्ने क्रममा डिजिटल तराजु १ थान र निजले लगाएको सुरुवालमा लुकाइराखेको प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ८ ग्राम बरामद गरेको हो ।