Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सहकारीको बेथिति मौलायोः मेयर

हाम्रो कोशी आवाज
माघ ७ २०७८, शुक्रबार
धरानमा सहकारीको बेथिति मौलायोः मेयर

धरानः धरान उपमहानगरपालिका क्षेत्रभित्र रहेका ऋण तथा बचत सहकारी संस्थाहरुलाई व्यवस्थित बनाउनका लागि उपमहानगरपालिकाले नियमन गर्ने भएको छ ।
धरानमा सहकारीको वार्षिक साधारणसभा नभएका कारण बेथिति रहेको जनाइएको छ । केही सहकारीहरुको ठेगाना नभएको तर, नगरपालिकामा दर्ता भएको सहकारी छन् । सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुसार धरानका सहकारीलाई व्यवस्थित बनाउनका लागि नियमन गर्न लागिएको मेयर तिलक राईले बताएका छन् ।
बोधिचित्त बचत तथा ऋण सहकारी संस्था लिले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर राईले पछिल्लो समय धरानमा सहकारी संस्थाहरुले आर्थिक अनियमितता गरेको घटनाहरु बाहिरिन थालेको बताउँदै यसलाई बेलैमा व्यवस्थित गर्न नसके भोलि गएर ठूलो समस्या उत्पन्न गर्नसक्ने बताए ।
मेयर राईले भन्नुभयो, ‘अहिले सहकारीहरु कसरी डुबिरहेको छ ? किन डुबिरहेको छ ? तपाईहरुको पनि पैसा परेको होला । पछि तपाईहरुनै निवेदन लिएर नगरपालिकामा आउनुहुन्छ । मेरो पैसा त फल्ना सहकारीमा राखेको थिए, उठाइदिनुपरयो भनेर । त्यतिबेला हामिले के गर्ने ? त्यसकारणले गर्दा अब उपमहानगरपालिकासँग जे व्यवस्था छ । त्यसलाई हामिले अनुगमन गर्नुपर्छ । नियमन गर्नुपर्छ । भएका सहकारीहरुलाई पनि व्यवस्थित गर्नुपर्छ ।’
धरानमा आवश्यक भन्दा धेरै सहकारीहरु भइसकेको उनको धारणा थियो । त्यसको उपमहानगरपालिकाले पनि राम्रोसँग व्यवस्थापन गर्न नसकेको उनले स्वीकारे । सहकारी व्यवस्थापक, सञ्चालकले पनि लुटिखाने भाँडो बनाएको उनको भनाइ छ । गरिब जनताको पैसा उठाएर व्यक्तिगत रुपमा लगानी गरिरहेका कारण यस्तो समस्या सिर्जना भएको मेयर राईको भनाई थियो । मेयर राईले राजनीतिक दलहरुले पनि धरानमा सहकारी थप्न नहुने सुझाव दिइरहेको बताए । मेयर राईका अनुसार राजनीतिक दलहरुले धरानमा भएका सहकारी संस्थाहरुलाई मर्ज गरेर व्यवस्थित बनाउनुपर्ने सुझाव दिइरहेका छन् ।
उपमहानगरपालिकामा प्रत्येक हप्ता सहकारीले पैसा खाइदियो भनेर निवेदन परिरहेको मेयर राईले बताउँदै भने, ‘मैले जम्मा गरेको म्याद पुग्यो । त्यो सहकारीको सञ्चालक भाग्यो । पास बुक छ, पैसा दिँदैन भनेर धेरै वटा निवेदन परेको छ । यत्रो बेथिति भइरहेको छ । नयाँ सहकारी थप्ने हो कि, नथप्ने हो कि भनेर छलफल पनि भइरहेको छ । यस विषयमा उपमहानगरपालिका गम्भीर छ ।’ सहकारीको सम्बन्धमा उपमहानगरपालिकाले गरेको निर्णय दीर्घकालीन हुनुपर्ने मेयर राईको भनाई छ ।
मेयर राईसहित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले नगरपालिकाले सहकारीको नियमन तथा अनुगमनलाई तीब्र बनाउनुपर्ने सुझाव समेत दिए । धरानमा पछिल्लो समय सहकारीहरुमा बेथिति मौलाएको उनीहरुको पनि भनाई थियो ।
सहकारी शाखा प्रमुख भक्तिराज शर्माका अनुसार उपमहानगरपालिकामा ८८ वटा सहकारी संस्थाले दर्ता गराएको तथ्यांक छ । सहकारीले करिब १९ करोड रुपैयाँ हिनामिना गरेको उपमहानगरपालिकामा निवेदन परेको उनल जानकारी दिए । उनका अनुसार कतिपय सहकारीका सञ्चालकहरुले आफ्नो सम्पत्ति सकेर बचतकर्तालाई निल बनाएको अवस्था छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलले आर्थिक सेवा सुविधाहरु सहर केन्द्रित भएको बताउँदै ग्रामीण अर्थतन्त्रमा टेवा पुगोस् भन्ने उद्देश्यले सरकारले सहकारी ऐन ल्याएको बताए । उनले सहकारी सञ्चालकहरुको बदनियतले बचतकर्ताहरुलाई समस्या परेको औल्याए । पाँच हजार जनसंख्या नपुगेसम्म सहकारी संस्था दर्ता गर्न नपाइने पनि जानकारी दिए । उनले धरानमा विगतमा जे जे कमजोरी भए अब त्यस्तो कमजोरीलाई सुधार गरेर लैजाने प्रतिबद्धता गरे ।
२०७४ मा संघीय सरकारले सहकारी ऐन बनाएको छ भने धरान उपमहानगरपालिकाले पनि २०७५ मा सहकारी ऐन बनाएको छ । कार्यक्रमका सभाध्यक्ष समेत रहेका बोधिचित्त बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार लोकबहादुर थिङले सहकारीहरु बजार केन्द्रित भएको भन्दै सहकारी दर्ताको स्वीकृति गरिदिन आग्रह गरे ।

प्रकाशित मिति: माघ ७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend