ताप्लेजुङ: सदरमुकामनजिक पाथिभरा र सुकेटार विमानस्थल क्षेत्रमा बाक्लो हिमपात भएको छ। बिहीबारदेखि सुरु भएको वर्षासँगै तीन हजार ७०० मिटरमा अवस्थित पाथिभारा र २४ सय मिटर उचाई रहेको सुकेटार क्षेत्रमा बाक्लो हिमपात भएको हो।
प्रसिद्ध धार्मिकस्थल पाथिभरा र पर्यटकीय क्षेत्रको रुपमा रहेको सुकेटार क्षेत्रमा धेरै वर्षपछि हिमपात भएको स्थानीयले बताएका छन्। पाथिभरा क्षेत्रमा हिमपात भएसँगै हिउँमा खेल्दै पाथिभराको मन्दिरको दर्शन गर्ने तीर्थयात्रीहरुको संख्या बढ्दै गएको छ।
बिहीबार ६० जना, शुक्रबार ५० जना तीर्थयात्रीले हिउँमा खेल्दै पूजापाठ गरेको पाथिभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए। शनिबार करिब २०० जना तीर्थयात्रीहरु आएको समितिले जनाएको छ।

यता फुङ्लिङबजार नजिक सुकेटारमा हिउँ परेसँगै शुक्रबार र शनिबार हिउँ खेल्नेको भीड लागेको छ। ताप्लेजुङका आएको समयमा सुकेटर क्षेत्रमै हिउँ खेल्ने अवसर पाउँदा खुसी लागेको धरानका सन्दीप लिम्बूले बताए।
हिमपातको समयमा पाथिभरा मन्दिरको दर्शनसँगै प्राकृतिक मनमोहक दृश्यको अवलोकनसमेत गर्न सकिने पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताए।
‘पुस महिनादेखि फागुनसम्म पाथिभरा क्षेत्रमा हिउँको आनन्द लिँदै पाथिभरा माताको दर्शन गर्न सकिन्छ। तीर्थ यात्रीहरुका लागि क्षेत्र विकास समितिले सहयोगी कर्मचारीहरुले सहयोग गर्नेछ,’ उनले भने। हिमपातको समयमा हिउँमा खेल्दै पाथिभरामा पूजापाठ गर्ने आउने तीर्थयात्रीहरुको संख्या बढ्दै गएको काफ्लेको भनाइ छ।
यता जिल्लाको उच्च हिमाली क्षेत्रमा धेरै बाक्लो हिमपात भएको छ। हिमाली बस्ती ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फले, तोक्पेगोला, ग्याब्ला लगायतमा दुई फिट बढी हिउँ थुप्रिएको स्थानीयले बताएका छन्। हिमपात र वर्षा भएपछि चिसोका कारण भने जिल्लाको जनजीवन प्रभावित भएको छ।
