धरानः गुडिरहेको जीपमा ढुङ्गा खस्दा तीनजनाको मृत्यु भएको छ ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, गहतेबाट सदरमुकामतर्फ जाँदै गरेको बोलेरो जीप गुडिरहेकै बेला सोतीभीरमा ढुंगाले किचिन पुगेको हो । ओखलढुंगा प्रहरीका अनुसार डोजरले निकालेको ढुंगा पल्टिएर जीपमाथि खसेको हो । सो क्रममा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीजना घाइते भएका छन् ।
सडक निर्माण कार्य चलिरहँदा डोजरले माथिबाट लडाएको ढुङ्गा को१ज ३५६९ नम्बरको जीपमाथि खसेको हो । सो दुर्घटनामा परी मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका– १ का ७ वर्षीय युनिषा कोइराला र १० वर्षीय इशव कोइराला तथा मानेभञ्ज्याङ गाउँपालिका– १ का ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरीले जनाएको छ । यसैगरी घाइते हुनेमा देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ र लक्ष्मी कोइराला रहेका छन् ।
गम्भीर घाइते भएकाहरूलाई स्थानीय सोब्रुस्थित मिसन अस्पताल पुरयाउँदा अस्पतालले तीनजनालाई मृत घोषणा गरेको हो । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सहरी पूर्वाधार विकास आयोजनाले सडककै काम गर्दा ढुंगा खरेर जीपमा लागेको देखिएको बताए ।
प्रारम्भिक रूपमा ठेकेदारको असावधानीका कारण दुर्घटना भएको देखिएको उनले जानकारी दिए । ‘तीनजनाको मृत्यु भएको पुष्टि मिसन अस्पताले गरिसकेको छ । अन्य तीनजा घाइते हुनुहुन्छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर भएका कारण हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।’ उनले भने ।
