विराटनगरः यस आर्थिक वर्षको पहिलो अर्धवार्षिकमा ३ हजार ६ सय २७ मुद्दा दर्ता भएका छन् भने १९ करोड भन्दा बढी राजश्व संकलन भएको छ ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा सो राजश्व संकलन भएको हो ।
संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउनेतर्फ विशेष ध्यान दिई समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकाशी र ट्राफिक ब्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भएअनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।
यस आर्थिक बर्षको गत ६ महिनामा मात्र ३ हजार ६ सय २७ वटा विभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ११ सय ६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ६३२ वर्ष कैद भुक्तान भई ४ करोड २५ लाख ९० हजार ४ सय ५२ रुपैयाँ राजश्व संकलन भएको छ ।
यसैगरी भन्सार चोरी निकासीतर्फ अवैधरुपमा सनमान चोरी निकासी गर्ने ४७ जना मानिस पक्राउ गर्नुका साथै ५ करोड ५८ लाख ८० हजार ५६७ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै, नदीजन्य पदार्थको अवैध रुपमा दोहन गर्ने ३२ जना मानिस र ५१५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै २० लाख १९ हजार २५० राजश्व संकलन भएको छ ।
यसैगरी अवैध काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ गर्नुका साथै १९५२ क्यू.फिट. काठ बरामद गरी ४४ लाख ४ हजार ६६६ राजश्व संकलन भएको छ ।
यसैगरी ट्राफिक ब्यवस्थापनतर्फ यस आर्थिक वर्षको ६ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने १ लाख ३१ हजार ५७६ वटा सवारी साधनलाई कारवाही गर्दा ८ करोड ५९ लाख ६४ हजार ५०० राजश्व संकलन भएको छ ।
यसैगरी लागूऔषध नियन्त्रणतर्फ गाँजा ३ सय ८२ किलो ८९९ ग्राम, चरेश १४ ग्राम ५०० मिलिग्राम, ब्राउन सुगर १ किलो ४२५ मिलिग्राम, विभिन्न मनोद्विपक क्याप्सलु १० हजार ६८, मनोद्विपक एम्पुल ३ हजार ८७५ र मनोद्विपक औषधीहरु ४७५ क्याप्सुल नियन्त्रण गरिएको र १६६१ रोपनी क्षेत्रफलमा लगाएको ७ लाख ५१ हजार ७७८ बोट गाँजा नष्ट गरिएको छ । यसरी यसै आर्थिक वर्षको ६ महिनामा मात्र कुल १९ करोड ८ लाख ५९ हजार ४३५ राजश्व संकलन भएको हो ।
