Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनाः प्रत्येक तीनदिनमा एकको मृत्यु

हाम्रो कोशी आवाज
माघ १२ २०७८, बुधबार
दुर्घटनाः प्रत्येक तीनदिनमा एकको मृत्यु

झापा सवारी दुर्घटनामा परी प्रत्येक तीन दिनमा एकजनाको मृत्यु हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको चालु आर्थिक वर्ष २०७८-७९ को पुस मसान्तसम्म भएका सवारी दुर्घटनाको तथ्याङ्कबाट सो कुरा पुष्टि भएको हो ।
चालु आवको पुस मसान्तसम्ममा सवारी दुर्घटनामा परी ६३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक निशेष चापागाईँले जानकारी दिए । जिल्लामा चालु आवको पुस मसान्तसम्म ३१३ सवारी साधन दुर्घटना भएका थिए । उक्त सङ्ख्या गत आवको तुलनामा करिब ४० प्रतिशतले बढी हो । गत आवमा ६५७ सवारी साधन दुर्घटना हुँदा ९३ जनाले ज्यान गुमाएका थिए ।
ट्राफिक नियम उल्लङ्घन गर्ने दुईपाङ्ग्रे सवारी साधनको सङ्ख्या अत्यधिक रहेको चापागाईँ बताउँछन् । “जिल्लामा बर्सेनी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ”, उनले भने, “मोटरसाइकल दुर्घटना बढी छ ।” सवारी साधनको बढ्दो चाप, सडकको दूरावस्था, तीव्रगति, ट्राफिक नियमको अवहेलनालगायत कारणले दुर्घटना बढ्दै गएको उनको भनाइ छ । जाडोको समयमा बाक्लो हुस्सु, मादक पदार्थ सेवन, साँझमा विपरीत दिशाका दुई सवारीका चालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा पनि दुर्घटना बढेको प्रहरी निरीक्षक चापागाईँ बताउँछन् ।
ट्राफिक कार्यालयले चालु आवको ६ महिनाको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने २३ हजार २०० सवारी साधनका चालकलाई कारबाही गरेको छ । कारबाहीवापत उनीहरुबाट रु एक करोड ५६ लाख २२ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: माघ १२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend