Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धेरै जनसंख्या भएको प्रदेशमध्ये चौथोमा प्रदेश १

हाम्रो कोशी आवाज
माघ १२ २०७८, बुधबार
धेरै जनसंख्या भएको प्रदेशमध्ये चौथोमा प्रदेश १

धरानः नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
विभागका अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।
कुन प्रदेशमा कति ?


मधेश प्रदेश सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश बनको छ । प्रारम्भिक तथ्यांक अनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको छ । त्यसपछि बागमती प्रदेश सबैभन्दा धेरै जनसंख्या रहने प्रदेश बनेको छ ।
तथ्यांकअनुसार बागमती प्रदेशको जनसंख्या ६० लाख ८४ हजार ४२ पुगेको छ । यसअघि २०६८ सालमा गरिएको जनगणनामा वाग्मतीको जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ थियो । विभागका अनुसार प्रदेश १ को जनसंख्या ४९७२०२१ रहेको छ । त्यस्तै गण्डकी प्रदेशको २४७९७४५ रहँदा लुम्बिनीको ५१२४२२५ रहेको विभागले जनाएको छ। कर्णालीमा १६९४८८९ जनसंख्या रहँदा सुदूरपश्चिममा २७११२७० रहेको छ ।
सबैभन्दा न्यून जनसंख्या कर्णाली प्रदेशमा १६ लाख ९४ हजार आठ सय ८९ जना रहेका छन् । यो कुल जनसंख्याको ५ दशमलव ८१ प्रतिशत मात्र हो । दोस्रो धेरै जनसंख्या हुने प्रदेश बागमतीमा ६० लाख ८४ हजार ४२ जना रहेका छन् । यो कुल जनसंख्याको २० दशमलव ८४ प्रतिशत हो । तेस्रोमा लुम्बिनी प्रदेशमा १७ दशमलव ५५ प्रतिशत जनसंख्या रहेको छ । यो ५१ लाख २४ हजार दुई सय २५ जना हो भने चौथोमा प्रदेश १ मा ४९ लाख ७२ हजार २१ जना (१७ दशमलव ०३ प्रतिशत) रहेको छ । पाँचौँ र छैटौमा क्रमशः सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन् । ती प्रदेशमा क्रमशः २७ लाख ११ हजार दुई सय ७० र २४ लाख ७९ हजार ६ सय ४५ जना रहेका छन् ।
दुईतिहाइ जनसंख्या सहरी क्षेत्रमा बसोवास
०७८ को जनगणनामा सहरी जनसंख्या ६६ दशमलव ०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसंख्या छ ३३.९२ प्रतिशत पुगेको छ । राष्ट्रिय जनगणना ०६८ मा १७ दशमलव ०७ प्रतिशत सहरी जनसंख्या र ८२ दशमलव ९३ प्रतिशत ग्रामीण जनसंख्या रहेको थियो । तर, संघीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रअनुसार वर्गीकरण गरी ०६८ सालको जनसंख्यालाई समायोजन गर्दा सहरी जनसंख्या ६३ दशमलव १९ प्रतिशत र ग्रामीण जनसंख्या ३६ दशमलव ८१ प्रतिशत पुगेको थियो ।
०६८ सालको जनगणनाको समयमा ५८ वटा मात्र नगरपालिका रहेकोमा सोहीअनुसार सहरी जनसंख्याको विश्लेषण गरिएको थियो । नेपाल सरकारबाट घोषित दुई सय ९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई सहरी क्षेत्रको जनसंख्या र सोबाहेकको चार सय ६० गाउँपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानी ग्रामीण तथा सहरी जनसंख्याको वर्गीकरण गरिएको छ ।


पहिलोमा काठमाडौं
काठमाडौं जिल्ला नेपालका ७७ वटै जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएको जिल्लामा परेको छ । नेपालको जनगणना २०७८ अनुसार काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ । त्यस्तै, सबैभन्दा कम जनसंख्या रहेको मनाङ जिल्लाको जनसंख्या ५ हजार ६४५ रहेको छ । धेरै जनसंख्या भएका जिल्लाहरुमा मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्लामा रहेका छन् भने कम जनसंख्या भएका जिल्लाहरूमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा परेका छन् ।

प्रकाशित मिति: माघ १२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend