Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा काठमा कला देखाएर कमाउँदै युवा

हाम्रो कोशी आवाज
माघ १३ २०७८, बिहिबार
धरानमा काठमा कला देखाएर कमाउँदै युवा

धरानः कुनैपनि निर्जीव वस्तु आफैंमा पूर्ण आकृतिको हुँदै हुँदैन । त्यसमा विभिन्न सीप सिकेका व्यक्तिहरुको श्रम, सीप र समय खर्च भएपछि त्यसले पूर्णता पाउँछ । एउटा मूर्तिकारले त्यसमा राम्रो मूर्ति र शालिक देख्छ । फलामको टुक्रामा लोहार (फलामको काम गर्ने) ले हतियार, इञ्जिन वा दैनिक आवश्यकीय सामानको चित्र देख्छ । त्यस्तै, सुनार (सुनचाँदी) को टुक्रामा विभिन्न आकृतिका महङ्गा गरगहना देख्छ । कुनै एउटा काठको टुक्राभित्र सिकर्मीले झ्याल–ढोका र विभिन्न जनावरण, विभिन्न देवीदेवता साथै विभिन्न आकृति देखेकै हुन्छ । यही देखाइको कारणले नै ऊ भविष्यमा सफल व्यवसायी बन्छ ।
काष्ठकला, हस्तकला व्यवसाय थाल्नुअघि युवा रोशन मालीले पनि सोही देखे र सोहीअनुसार व्यवसायमा पनि ढाले । उनले यस्तो व्यवसाय गरेको १७ वर्ष भइसकेको छ । उनले धरानमा व्यवसाय गरेको ५ वर्ष भइसकेको छ । धरान-१२ चतरालाइनमा उनले यो व्यवसाय थालेका हुन् । उनले बनाएका मूर्ति, झ्यालढोका र अनेकौं काष्ठ निर्मित कलात्मक वस्तुले सबैको मन लोभ्याउँछ । ‘नेपाल काष्ठकला एवम् हस्तकला उद्योग’ नाम दिइएको उनको यो व्यवसायले अहिले बजार लिँदै गएको छ । उनी सन्तुष्ट पनि छन् । ‘अहिले यो व्यवसाय राम्रै छ’, उनले भने, ‘धरान आएको धेरै भएको छैन तर पनि व्यवसायले गति लिँदै गएको छ, हस्तकलालाई धेरैले मन पराइदिनुभएको छ ।’
धरानमा काष्ठकला, हस्तकलाको व्यवसाय थाल्नुभएछ भनेर धेरैले मन पराउँदै आएको उनले बताए । ‘धरानमा पनि धेरैजसोलाई काठको बुट्टेदार झ्याल, ढोका खुब मनपर्छ तर काठमाडौं जानुपर्ने बाध्यता रहेको थियो’, उनले खुलाए, ‘त्यही भएर धरानमै सेवा दिने उद्देश्यले यो व्यवसाय सुरुवात गरें ।’
ग्राहकले जस्तो भन्छन् सोहीअनुसार उनले काठमा कुँदेका झ्याल, ढोकालगायतका सामग्री तयार गर्छन् र दिन्छन् । विशेषतः काष्ठकला व्यवसाय लोप हुँदै गएको र आफूले यसलाई बचाउँदै आएको उनले जानकारी दिए । ललितपुरमा सिकेको कलालाई धरानमा पस्किन पाउँदा गर्व लागेको उनले बताए । उनले आधाभन्दा बढी उमेर काष्ठकलामै बिताइसकेका छन् । ललितपुरमा पनि धेरै कला पस्किएका उनले अहिले धरानमा निजी घरका झ्यालढोका, मठमन्दिर आदिमा कला प्रस्तुत गरिसकेका छन् । ‘धरानमा यो व्यवसाय राम्रै जमिरहेको छ, माग बढिरहेको छ’, उनले थपे, ‘अहिले धेरैले चिनिसक्नुभएको छ, विस्तारै राम्रो हुन्छ भन्ने आशा पनि छ ।’
उनले अहिले व्यवसाय गरेर परिवार पाल्दै आएको र केही कमाउँदै पनि आएको बताए । आफूले धरानमा जिरोदेखि व्यवसाय शुरुवात गरेको बताउँदै उनले भने, ‘विदेशमा पसिना बगाउनुभन्दा हातको कलाको व्यवसायले मनग्ये आम्दानी भइरहेको छ, एकदमै खुशी छु, अहिले परिवार पाल्दै र कमाउँदैपनि आएको छु ।’
यो हस्तकला सिक्नेलाई उनले अवसर पनि दिने गरेको बताए । ‘यो हस्तकला व्यवसाय भनेको कला नै हो, कोही सिक्न चाहे, मिहिनेत गर्न चाहे उनीहरुलाई सिकाउने लक्ष्य लिएको छु’, उनले भने, ‘हातको कला सिकेपछि सहजै बाँचिन्छ, हातमा भएको कलाले जहाँ गएर पनि काम गर्न सकिन्छ, सहजै रोजगारी पाउन सकिन्छ ।’ उनले धरानमा राई, लिम्बू, नेवार, तामाङ, गुरुङ, शेर्पालगायत सबै जातिको संस्कार, संस्कृतिसँग सम्बन्धित सामग्री पनि तयार गर्ने गरेका छन् । उनले विशेषतः झ्यालढोका, मायाको चिनोलगायत सामग्री उत्पादन गर्दै आएको बताए ।
जतिबेला उनी आफैं आफूले काठमा कोरेका बुट्टा वरपर गएर हेर्छन् उनलाई ज्यादै खुशी र आनन्द लाग्ने गरेको रोशन बताउँछन् । ‘काष्ठकलाको काम सिक्ने थोरै छन्’, उनी भन्छन्, ‘यदि यो कला प्रवद्र्धन गर्न सके रोजगारको प्रबल सम्भावना छ ।’
उनी भएका स्रोत–साधनलाई प्रयोग गरेमा विदेशी मुलुकको भर नपर्ने बताउँदै भन्छन्, ‘घर परिवारसँगै बसेर राम्रो आम्दानी गर्न सकिने सम्भावना यही छ, वैदेशिक पर्यटकको केन्द्रविन्दु बनाउन सरकारले काष्ठकलामा व्यापक प्रचारप्रसार र लगानी गर्न आवश्यक छ ।’ उनले युवालाई काष्ठकला सम्बन्धी तालिमको प्रबन्ध गरिएमात्रै पनि काष्ठकला व्यवसाय फस्टाउने र युवा विदेशिनु नपर्ने तर्क राखे ।
उनले दुखेसो पोखे– आजका पुस्ताले यो कलालाई महत्व नदिँदा हाम्रो पहिचान नै लोप हुँदैछ । काष्ठकलाले आन्तरिक पर्यटकमात्रै नभई बाहिरबाट आउने जोकोहीलाई लोभ्याउने उनको भनाइ छ । आधुनिक घरलाई परम्परागत देखाउन पनि काठका बुट्टेदार झ्यालढोका ग्राहकको रोजाइमा पर्ने गरेको उनले सुनाए । ‘आधुनिक घरलाई परम्परागत देखाउन काठका बुट्टेदार झ्यालढोका रोजाइमा पर्छन्’, उनी थप्छन्, ‘आधुनिक रेडिमेड ढोका तथा झ्यालको प्रयोग बढपनि काठसँगको आत्मीयता घटेको छैन, आफ्नो घरलाई कलात्मक बनाउने चाहना धेरैको हुन्छ, यसको लागि काको कलाको विकल्प छैन ।’ काठको प्रयोगले मौलिकतासँगै आरामदायी अनुभूतिसमेत गराउने उनको भनाइ छ । पछिल्लो समय काठका झ्याल–ढोकामा धर्म, संस्कृति दर्शाउने परम्परागत बुट्टा, पुराना शैलीका डिजाइन साथै झ्याल–ढोकामा फूलका बुट्टा पनि राख्ने चलन बढेको उनी बताउँछन् ।

प्रकाशित मिति: माघ १३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend