विराटनगरः मोरङको बेलबारी नगरपालिका–९ डाँगा बजारका ३५ वर्षीय जयबहादुर खत्रीलाई आफ्नै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
बुधवार राति साढे १० बजेको समयमा खत्रीले आफ्नै बुबा ८० वर्षीय दलबहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायसी विषयमा बुबासँग वादविवाद गरेको र वादविवादकै क्रममा रिसको आवेगमा घाँटी थिच्दा दल बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यसरी हत्याको आरोपमा पक्राउ परेका खत्रीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।