विराटनगरः मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ट्याब्लेट ओसारपसारमा संग्लग्न २ जना भारतीय नागरिकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका–७ का २६ वर्षीय निशान श्रेष्ठ र धनकुटा नगरपालिका–४ का २० वर्षीय रोशन श्रेष्ठ तथा भारतको अररिया–३ का ३२ वर्षीय मुजफर मियाँ र ७५ वर्षीय जहरुदिन मियाँ रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
विराटनगर–१६ बाट श्रेष्ठद्वय फेरागन २० एम्पुल, लुपिजेसिक १८ एम्पुल , एभिल २० एम्पुल र डाइजापाम १८ एम्पुलसहित पक्राउ परेका हुन् भने मोरङकै सुनवर्सी नगरपालिका–८ बाट बिहान राति साढे १ बजे २ जना भारतीय नागरिक ३०० ट्याब्लेट लागूऔषध नाइट्रोसनसहित पक्राउ परेका हुन् । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै, भोजपुर नगरपालिका–१० बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका–१० का २९ वर्षीय सुमन तामाङ र धर्मदेवी नगरपालिका–५ का ३७ वर्षीय दलबहादुर तामाङलाई २ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।