विराटनगरः मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखुबारीमा खाल्डो खनेर पुरिएकामध्ये एउटा शवको पहिचान भएको छ ।
धनपालथान गाउँपालिका–७ कमलपुरस्थित उखु बारीभित्र गाडिएको अवस्थामा दुईवटा शव फेला परेको हो । बस्ती नजिकै रहेको स्थानीय गंगा सिंहको उखुबारीमा फेला परेको शव १५-२० दिनअघि गाडिएकोे हुनसक्ने प्रहरीले शंका गरेको छ ।
मृतक दुवै पुरुष हुन् । बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद खाल्डो भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव छिटो गलाउन नुन हालेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । एउटा शव उत्खनन् गरि पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको मोरङ प्रहरीले जनाएको छ । घटनास्थलमा थप अनुसन्धानका लागि कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।
बिहीबार उत्खनन गरी निकालिएको शव धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए । श्रेष्ठ भक्तपुरमा बस्दै आएको खुलेको उनले बताए ।
बुधबार निकालिएको शवको हात डोरीले बाँधिएको र घाँटीमा पनि डोरीको डाम छ । उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । शङ्कास्पद खाल्डो भेटिएपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा शव भेटिएको थियो ।
एसपी जिसीका अनुसार दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको देखिन्छ । तर कुन तरिकाले हत्या गरिएको हो भन्नेबारे केही नखुलेको र पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए । घटनास्थलमा संघीय प्रहरी कार्यालय धरानबाट तालिमप्राप्त कुकुर ल्याएर घटनास्थलमा स्क्रिनिङ गराइएको छ ।
एकान्त र उखुबारीको बीचमा भएका कारणले हत्याराले शव गाड्न सहजै सो स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष छ ।