धरानः धरान नगरबासीहरुको सहयोग, योगदान र विश्वासले नै धरान नगरको छिटो विकास गर्न सकिने धरान उपमहानगरपालिका मेयर तिलक राईले बताएका छन् ।
धरान उपमहानगरपालिका वडा नं. १५ स्थित चुम्लुङ हिममार्ग सडक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राई र विशिस्ट अतिथि १५ नं. वडाका वडा अध्यक्ष नरेशकुमार इवारमले संयुक्तरुपमा उद्घाटन गरेका थिए । सो कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

धरान उपमहानगरपालिकाको २० लाख र उपभोक्ताहरुको ६ लाख ३२ हजार रुपैयाँ गरी जम्मा २६ लाख ३२ हजार रुपैयाँको लागतमा ३२० मिटर चुम्लुङ हिममार्ग पक्की सडक निर्माण भएको छ । पक्की बाटो निर्माण कार्यले स्थानीय ४ सयभन्दा बढी जनसंख्या लाभान्वित हुनेछन् ।
सो सडक निर्माणका लागि बुद्ध निर्माण सेवा धरानका हरिबहादुर तामाङले जिम्मेवारी लिएका थिए । तामाङले निर्माण कार्य राम्रो गरेको हुनाले उपभोक्ता समिति तथा टोलबासीहरुको तर्फबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा धरान उपमहानगरपालिका योजना महाशाखाका योजना अधिकृत किरणकुमार भुजेल, इञ्जिनियर राम लिम्बूलगायत अन्य महानुभावहरु अतिथिका रुपमा रहेका थिए । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष मोहनकुमार हुक्पा चोङवाङको अध्यक्षतामा सम्पन्न भएको थियोे ।