धरानः जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रदेश १ को नाम किरात–लिम्बुवान हुनुपर्ने बताएका छन् ।
धरानमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरामा जोड दिएका हुन् । ‘पार्टीको स्पष्टता यो छ कि प्रदेश १ को नाम किरात–लिम्बुवान वा लिम्बुवान–किरात राख्न सकिन्छ’, उनले थपे, ‘त्यसमा शेर्पालुङ थप्दा राम्रो ।’ उनले प्रदेश १ को भूगोलमा किरात, लिम्बुवान र शेर्पालुङ परेकोले नामाकरणमा तीनवटै पहिचान खुल्नु सर्वोत्तम हुने बताए । सो तथ्य मदन परियारको राज्य पुनसंरचनासम्बन्धी संवैधानिक आयोगको प्रतिवेदनमा उल्लेख रहेको उनले जानकारी दिए ।
गठबन्धनको बारेमा बाहिर जस्तोसुकै कुरा आएपनि यसलाई संसदीय चुनावसम्म लिएर जाने कुरामा विवाद नभएको उनको भनाई छ । ‘हाम्रो मान्यता के छ भने चुनावसम्मै गठबन्धन सँगै जानुपर्छ भन्ने हो, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सधैंजसो यसैमा जोड दिँदै आएकोले हाम्रो गठबन्धन पछिसम्मै टिक्छ ।’ उनले थपे ।