Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा उद्योग खोलेर मीठो ललिपप चखाउँदै

हाम्रो कोशी आवाज
माघ १६ २०७८, आइतबार
धरानमा उद्योग खोलेर मीठो ललिपप चखाउँदै

धरानः धरान आउनेले के कोसेली लिएर लिएर जान्छन् भन्नेबारेमा अहिलेसम्म ‘फिक्स’ हुन सकेको छैन । तर पनि धरान–१४ विजयपुरमा भने धराने कोसेली भन्दै ललिपपलाई उद्योगकै रुपमा लैजाने र ललिपप चखाउने मात्रै नभई कोसेलीकै रुपमा दिन सकिने भन्दै स्थानीयबासी लागिपरेका छन् ।
धरान–१४ विशेषगरी ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र पनि भनिन्छ । त्यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलक्षित ललिपप बनाउँदै ‘धरानको कासेली’ का रुपमा विकास गर्ने प्रयासको थालनी गरिएको छ ।
धरान–१४ का महिला साथै अन्य पुरुष पनि मिलेर यहाँ ‘बुढासुब्बा ललिपप उत्पादन केन्द्र’ नामको घरेलु उद्योग सञ्चालनमा ल्याइएको जनाइएको छ । उद्योग खोलेर ललिपप चखाउँदै प्रयासमा उनीहरु रहेका छन् ।
स्थानीय ११ जना (महिला र पुरुष) को समूहले ललिपप व्यवसाय थालेका हुन् । ‘बुढासुब्बा, पञ्चकन्या, दन्तकाली, पिण्डेश्वरलगायतका धार्मिक क्षेत्रमा आउने पर्यटकलाई केही कोसेली दिनुपर्दछ भनेर सोंच्यौं’, सञ्चालन समितिका सचिव इन्द्रकुमार श्रेष्ठले भने, ‘त्यसपछि ललिपप दिनुपर्दछ भनेर सबैको एक मत भयो, त्यसपछि यसलाई उद्योगकै रुपमा लैजाने कोसिस गरिररहेका छौं ।’ आफूहरु विजयपुर धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्र भएकोले यहाँ यसलाई एउटा उद्योगकै रुपमा लैजाने सोंच बनाएर अघि बढेको उनले जानकारी दिए ।
अहिले उनीहरुले चेप्टे ललिपप, गोलो खालको ललिपप, सेतो मिठाइ र पुष्टकारीलगायत सामग्री उत्पादन गर्दै आएका छन् । सो सामग्री तयार गर्न गाउँकै स्थानीय कृषकले पालेका गाईको दूध प्रयोग गर्दै आएको उनीहरु बताउँछन् । अहिले शुरुवात चरण भएकोले दैनिक १० लिटरको दूधबाट मात्रै सामग्री बनाउँदै आएको उनको भनाइ छ ।
इलामबाट लिला भट्टराईले १० दिनको तालिम दिएकी थिइन् । उनले प्राक्टिकल्लीरुपमै पकाएर देखाएपछि आफूहरुले सहजै सिकेको बताए । यस्तै, उनीहरुले इलाम पुगेर पनि यसबारे जानकारी लिइएको उनले जानकारी दिए । उनले तालिमपछि उपमहानगरपालिकाबाट ११ जनालाई पकाउने कन्ती दिएको बताए । त्यसपछि वडाले ५० हजार रुपैयाँ दिएपछि केही भरथेक भएपछि आफूहरुले यस्तो काममा हात हालेको उनले जानकारी दिए ।
अहिले विशेषतः मन्दिर छेऊछाउका पसलमा मात्रै उत्पादित सामग्री दिँदै आएको र अधिकांश सामग्रीको माग बढ्दै गएको जनाइएको छ । ‘अहिले जति पनि उत्पादन गर्दै आएका छौं, ती सबै सामग्री मन्दिर आसपासका पसलहरुमा मात्रै दिँदै आएका छौं’, उनले भने, ‘अब उद्योग नै स्थापना गरेर धरान बजारभरी छर्छौं ।’
उद्योग सञ्चालन समितिकी सदस्य गंगा बिसीले अहिले सिकेको सीपले खुब काम गरिरहेको बताइन् । तालिममा १० आइटम बनाउने भनेर सिकेपनि अहिले ५ प्रकारका आइटम मात्रै तयार ग रिरहेको र भविष्यमा सबै आइटमलाई प्राथमिकता दिइने र ललिपपलाई ब्राण्डिङ गर्दै कोसेलीकै रुपमा लैजाने वातावरण तयार गर्न आफूहरु हरतरहले लाग्ने उनले बताइन् ।
अर्की सदस्य अञ्जु पुलामी मगरले मठमन्दिरमा ललिपप राख्दा पर्यटकले प्रसादका रुपमा पनि लैजान थालेको बताइन् । विशेषतः घरको काम गरिसकेर फुर्सदको समयमा यसको उत्पादन थाल्दा आफूहरुको जीवनस्तर पनि माथि उकासिने विश्वास लिइएको उनले बताए । ‘अहिले यहाँ जति पनि महिला यस्तो सामग्री उत्पादन गर्न लाग्नुभएको छ, उहाँहरु अहिले हौसिएर लाग्नुभएको छ, उहाँहरुको बचेको समयको सदुपयोग भएको हामीले महसुस गरेका छौं ।’
मेयरको आश्वासन
उद्योग सञ्चालन गर्नको लागि स्थानीय सरकारले सक्दो सहयोग गर्नुपर्ने सञ्चालक समितिकी अध्यक्ष अञ्जु थापा मगरले बताइन् । यसैबीच धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जग्गा पाए भवन बनाइदिने आश्वासन पाएपछि आफूहरु झनै हौसिएको सञ्चालक समितिकी अध्यक्ष अञ्जुले बताइन् । ‘भवन बनाइदिए हामीलाई अझै सहज हुने थियो’, उनले भने, ‘धरानको कोसेलीका रुपमा दिने सामग्री उत्पादन गर्न सहज हुन्थ्यो, यसले धरान उपमहानगरपालिकाको गरिमा र आर्थिक स्रोत पनि बढ्दै जाने थियो र सहजै रोजगारी पनि मिल्थ्यो ।’
वडा पनि कम्मर कसेर लागेको छः वडाध्यक्ष
विजयपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु फर्किँदा ‘धरानको कोसेली’ भनेर लिएर जाने ललिपप चकलेटको उत्पादनलाई वडाले विशेष जोड दिएर अघि बढेको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । ‘विजयपुरको ललिलपप, बरमझियाको पेडा, १४ नम्बर वडाका उद्यमी महिलाहरुको समय अब जाँदैन खेर’ भन्ने नाराका साथ हामी कम्मर कसेर लागेका छौं’, उनले भने, ‘धार्मिक पर्यटकीय क्षेत्रमा आउने आन्तरिक र बाह्य पर्यटकका लागि मात्रै नभएर अन्यका लागि पनि ‘धराने कोसेली’ लिएर जाने वातावरण तयार गर्छौं ।’
उनले सो क्षेत्रमा भारतीय फलफूललाई बिक्री वितरणमा रोक समेत लगाइने बताए । उनले भारतीय फलफूल साथै मिठाइहरु अहिले पनि मन्दिरमा चढाउने प्रचलन रहेकोले यहाँ उत्पादित ललिपप चढाउनुपर्छ भन्ने मान्यताको पनि विकास गरिने समेत बताए । उनले ललिपपलाई व्यवस्थापनका लागि वडाले पनि पहल गर्ने बताए । ‘अहिले सानो समूहले सामग्री उत्पादन भइरहेको छ, बजारमा सामानले माग धान्न धौ धौ भइरहेको छ, यसलाई उद्योगकै रुपमा विकास गर्न र निरन्तरताका लागि वडाले सक्दो सहयोग गरिरहन्छ ।’ उनले थपे ।
उनले स्थानीय दूधबाट बनेको अर्गानिक परिकारको रुपमा यस्ता सामग्री बनेकोले पनि बजारमा माग धान्न नसकिएको बताए ।
तस्वीरहरुः अङ्कित ढुङ्गाना

 

प्रकाशित मिति: माघ १६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend