धरानः धरानमा नर्सले कफी पारखीहरुका लागि ‘सुगर एण्ड स्पाइस क्याफे’ खोलेकी छिन् ।
धरान–११ की कुन्साङ गुरुङले यस्तो क्याफे सञ्चालनमा ल्याउन लागेकी हुन् । खासमा उनले नर्सिङ कोर्ष गरेकी थिइन् । तर कोरोना महामारी बढेपछि काम गर्ने अवस्था नआएपछि उनले त्यतातिर ध्यान दिइनन् र व्यवसायमा लाग्ने सोंच बनाइन् ।
उनले ४० लाख रुपैयाँ लगानी गरेर धरान–११ राँगाचौकस्थित आफ्नै घरमा यस्तो क्याफे सञ्चालनमा ल्याउन लागेकी हुन् । माघ १९ गतेदेखि सञ्चालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिइन् । अहिले कोरोनाको भेरियन्ट जारी रहेकोले हुनाले जोखिम कम भएपछि बृहतरुपमा सञ्चालनमा ल्याउने उनले बताइन् ।
आफ्नै निवासमा खोलिएको हुनाले क्याफेमा आउने ग्राहकहरुले फेमिली वातावरणमा बसेर कफी र फुडको स्वाद लिन सकिने उनले जानकारी दिइन् । ३० वटा कफीको स्वादसँगै धरानमा पहिलोपटक टिवेटियन मःम र इम्प्रोभाइज गरिएको पिज्जाको स्वाद लिन सकिने सञ्चालक गुरुङले बताइन् ।
उनले आफ्नो व्यवसायमा करिब १५ जनालाई रोजगारी समेत दिएको बताएकी छिन् । यसले कोरोनाका कारण बेरोजगार रहेकाहरुलाइ सहयोग पुग्ने उनी बताउँछिन् । स्थामा सुधार आएपछि आफ्नो पेशासँगै व्यवसायलाइ पनि सँगै अघि बढाउने उनी बताउँछिन् ।
तस्वीरः विकास चाम्लिङ राई

