Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा तीनपाने रक्सी र बङ्गुरको ब्राण्डिङ हुने नै

हाम्रो कोशी आवाज
माघ १७ २०७८, सोमबार
धरानमा तीनपाने रक्सी र बङ्गुरको ब्राण्डिङ हुने नै

धरानः धरानमा तीनपाने रक्सी (कोदोको) र धराने कालो बंगुरको प्रवर्दन गर्नका लागि दुईवटा अवधारणा पत्र तयार गर्ने निर्णय भएको छ ।
सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलसहितको टोलीले केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका विज्ञहरुसँग बसेको छलफलमा नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका २०७८ माथि गरेको अध्ययनले निर्देशिका बमोजिम अवधारणापत्र तयार गर्ने सहमती भएको हो ।
अवधारणापत्र तयारी गर्ने जिम्मेवारी केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारलाई दिइएको छ । सो अवधारणा पत्र यही माघ २८ गतेभित्र पेश गरिसक्नुपर्ने बताइएको छ । उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको १ करोड ५० लाख र उपमहानगरपालिकाको ७० लाख रुपैयाँको लागतमा प्रोजेक्ट अगाडि बढ्नेछ । केन्द्रीय प्रविधि क्याम्पसलाई साझेदार संस्थाका रुपमा लिई धरान उपमहानगरपालिकाले कार्य सम्पन्न गर्ने निर्णय गरेको छ ।

छलफलमा मेयर राईले तीनपाने रक्सी (कोदोको) र धराने कालो बङ्गुरको प्रवद्र्धन सँगसँगै धरानको वडा नं. ४ र वडा नं. २० मा होमस्टेको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताए । पछिल्लो समय मानिसहरुले कोदो खेती गर्न छाडिसकेको बताउँदै मेयर राईले भने, ‘तीनपाने रक्सी र धराने कालो बङ्गुरको प्रवद्र्धनले कृषकहरुमा कोदो खेती गर्न पनि उत्साहित गर्नेछ ।’ मेयर राईका अनुसार परम्परागत रुपमा उत्पादन गरिरहेका स्थानीयबासीलाई तीनपाने रक्सीको बारेमा थप ज्ञान, सीप दिएर व्यवसायीकरण गर्न सकियो भने आत्मनिर्भर बनाउन सकिनेछ । साथै, बङ्गुरपालकहरुसँग सहकार्य गरेर धराने कालो बंगुरको प्रवद्र्धन गर्नसकिने मेयर राईको भनाई थियो ।
केन्द्रीय प्रविधि क्याम्पसका विज्ञहरुले तीनपाने रक्सी (कोदोको) अनुसन्धान हुन बाँकि रहेको बताउँदै यसलाई प्रवद्र्धन गर्र्न मापदण्ड र कानुन निर्माणको विषयमा उपमहानगरपालिकाले भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए । यस्तै, उनीहरुले धराने कालो बङ्गुरको मासुलाई ग्रेडिङ गरेर देश तथा विदेशमा निर्यात गर्न सकिने बताएका थिए ।
गत वर्ष केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका प्राध्यापक वसन्तकुमार राईको संयोजकत्ववमा कार्यदल गठन गरेको थियो । सो कार्यदलमा सदस्यहरु केन्द्रीय प्रविधि क्याम्पसका पूर्व प्रमुख प्रा.डा. धनबहादुर कार्की, फूलमाया तामाङ, सदर राई, मोहन तिगेला र सुचना अधिकृत खगेन्द्र खतिवडा सदस्य सचिव रहेका छन् ।

प्रकाशित मिति: माघ १७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend