धरानः नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ। मोरङ जिल्लाको ग्रामथान-१, खुनियाकट्टा र बुढिगंगा-५ मा बर्डफ्लु देखिएको पशु सेवा विभागले पुष्टि गरेकाे हाे।
मोरङको ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो । कुखुरामा फेला परेकाे बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। बर्डफ्लु देखिएका कारण कुखुरा नष्ट गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । प्रजिअ दाहालका अनुसार पछिल्लोपटक कटहरी गाउँपालिका–७ स्थित पद्मश्री बहुद्देश्यीय कृषि फार्ममा रहेका २ हजार ब्रोइलरमध्ये ७ सय वटा कुखुरा मरेको र नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएकाले सोमबार बाँकी कुखुरा नष्ट गर्न प्राविधिक टोली परिचालन गरिएको छ ।
विभागले एक विज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेकाे जानकारी दिइएकाे छ। कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गरेकाे थियाे।
विभागका अनुसार १६५० लेयर्स कुखुरा, ५० परेवा, ४२०० अण्डा, ११५० केजीदाना र ४००० गोटा अण्डाको क्रेट नष्ट गरिएकाे छ। ‘एच फाइभ एन वान’ भाइरस निकै संक्रामक मानिन्छ। जसको संक्रमणले नेपालमा पहिलो पटक १५ चैत २०७५ मा काभ्रेका एक युवककाे मृत्यु भएको थियो।