धरानः ललितपुरको धापाखेलमा गाडिएको अवस्थामा एउटा शव बरामद भएको छ ।
ललितपुरको गोदावरी नगरपालिका-१२ धापाखेलमा खाल्डो खनेर पुरिएको अवस्थामा शव भेटिएको हो । मोरङमा दुई जनाको शव भेटिएकोबारे थप अनुसन्धान गरिरहेको अवस्थामा ललितपुरमा पनि शव बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरले जानकारी गराए ।
बरामद शव तेह्रथुमका मोहन लिम्बूको भएको आशंका प्रहरीले गरेको छ । घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका सिरहाका अनिलकुमार मण्डलको बयानका आधारमा प्रहरी टोलीले शव बरामद गरेको बताइएको छ ।
यसअघि १२ माघमा मोरङको धनपालथान गाउँपालिका-७, कमलपुरको बस्तीनजिक उखुबारीमा खाल्डोमा गाडिएको अवस्थामा दुईजनाको शव भेटिएको थियो ।
तीन व्यवसायीको हत्या ९ दिनको फरकमा भएको खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सबैभन्दा पहिले ललितपुरमा लिम्बूको हत्या भएको खुलेको हो । मंसिर २८ गते लिम्बूको हत्या गरिएको पाइएको छ । लिम्बूको हत्या भएको ७ दिनपछि सोही समूहका दुईजनाको पनि हत्या भएको खुलेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ गरेका व्यक्तिले पुस ५ गते सुनसरीको धरानका राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेको र पुस ७ गते सप्तरीका शम्भु चौधरीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरु तीनैजना व्यवसायी हुन् । खासमा उनीहरु एउटै समूहमा घरजग्गाको कारोबार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
हत्या अभियोगमा पक्राउ परेका सिरहाका अनिलकुमार मण्डल पनि उनीहरुकै समूहका व्यवसायी हुन् । उनले नै हत्याको योजना बनाएको खुलेको छ ।
हत्याको अभियोगमा उनीसहित तीन जना पक्राउ परेका छन् । मण्डललाई अपराध महाशाखाले काठमाडौंबाट र अरु २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो । हत्यामा केही भारतीयको पनि प्रयोग गरिएको खुलेको छ । भारतीय भने फरार छन् ।
चौधरी र श्रेष्ठको शव भने माघ १३ गते उखुबारीमा फेला परेको थियो । अनुसन्धानका क्रममा लिम्बू समेत बेपत्ता भएको खुलेको थियो । त्यहाँ पनि शव गलाउन नुन हालेको र ढलान गरेको देखिएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्नहरूले लिम्बूको घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । घाँटीमा डोरी कसेको अवस्थामा शव उत्खनन गरिएको छ । लेनदेनको विवादमा ३ जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।