Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा बस र ट्रक ठोक्किएर आगलागी

हाम्रो कोशी आवाज
माघ २२ २०७८, शनिबार
सुनसरीमा बस र ट्रक ठोक्किएर आगलागी

सुनसरीः सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ३ खुनिया पुलस्थित पूर्व पश्चिम राजमार्गमा बस र ट्रक ठक्कर खाई आगोलागी हुँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बस चालक झापा गोलधाप १ का ४५ वर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बङ्गाल कालचोनी बस्ने २५ वर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ नगरपालिका ९ का २७ वर्षीय शेख फिरोज रहेका छन् भने घाइते भएका २७ जनाको सुनसरी र विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट बस र ट्रकमा चेपिएका ३ जनाको जलेर मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना५ख २९९६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । उक्त आगो दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा हिजो राती ९ बजे नियन्त्रणमा आएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
तीनवटै शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । प्रहरीका अनुसार आगलागी सुरु भएपछि उद्धार गर्न नसक्दा जलेर तीन जनाको मृत्यु भएको हो । स्थानीय र सुरक्षाकर्मीले उद्धार गरिरहेका बेला दुर्घटनामा परेको बस र ट्रकमा आगलागी सुरु भएको थियो । तर पनि बसको सिसा फुटाउँदै घाइतेहरुलाई बाहिर निकालेर उपचारका लागि पठाइएको थियो ।
दुर्घटनापछि दुवै सवारीका चालक भने सवारीभित्रै च्यापिएको हुँदा निकाल्न नसकिएको उनले बताए । साथै बसमा रहेका अर्का एक व्यक्तिले उद्धारका लागि हारगुहार गरिरहँदा पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा झापा मेची नगरपालिका–४ का बसका कन्डक्टर ३६ वर्षीय रविन ढुङ्गेल, मोरङ सुन्दरहरैचा नगरपालिका–९ का २२ वर्षीय विक्रम कटवाल, बसमा सवार दोलखा बिगु–७ का ५६ वर्षीय मिङमा शेर्पा, बारा निजगढ–९ का ४० वर्षीय दीपक श्रेष्ठ, बसका सहचालक उदयपुर चौदण्डीगढी–४ का २२ वर्षीय दिलकुमार विक, महोत्तरी मठियानी–६ का २९ वर्षीय राहुलकुमार मण्डल, काठमाडौँ–३० का ५० वर्षीय सादकन मियाँ, ४२ वर्षीया मुना प्रधान, ६० वर्षीय उमेश लामा र ६५ वर्षीया अमृता लामा पनि सामान्य घाइते भएका छन् । यस्तै, पाँचथर फिदिम–१० की ३८ वर्षीया पेवाहाङ जगेबु, तेह्रथुम दाङगोपा–९ का ३३ वर्षीय जितबहादुर लिम्बू, इलाम माई नगरपालिका–४ का ४४ वर्षीय गोपाल दाहाल पनि सामान्य घाइते छन् । उनीहरूको इनरुवा अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ २२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend