Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका श्रेष्ठ र सप्तरीका चौधरीको हत्यामा संलग्न समातिए

हाम्रो कोशी आवाज
माघ २२ २०७८, शनिबार
धरानका श्रेष्ठ र सप्तरीका चौधरीको हत्यामा संलग्न समातिए

विराटनगरः मोरङको धनपालथान गाउँपालिकामा भएको २ जनाको हत्याकाण्डमा संलग्न तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा जहदा गाउँपालिका–४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, सिरहा नगरपालिका–२१ घर भई हाल काठमाडौं बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा धरानका ४९ वर्षीय राजेन्द्र श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिकाका ३२ वर्षीय शम्भु चौधरीको हत्या प्रकरणमा उनीहरुलाई पक्राउ गरिएको हो ।
गत माघ १२ गते राति उखुबारीबाट चौधरीको गलेको शव र माघ १३ गते बिहीबार दिउँसो सोही अवस्थामा श्रेष्ठको शव प्रहरीले खाडलबाट निकालेको थियो । यसक्रममा घटनाका मुख्य योजनाकार मृतकद्वयका व्यवसायिक साझेदार अनिलकुमार मण्डललाई प्रहरीले सार्वजनिक गरिसकेको छ ।
मण्डलले व्यवसायिक साझेदारका रुपमा रहेका अर्का साथी मोहन लिम्बूलाई ललितपुरस्थित गोदावरी नगरपालिका ठेचोमा हत्या गरी खाडलमा पुरेका थिए । प्रहरीले लिम्बूको शवसमेत बरामद गरिसकेको छ ।
पक्राउ परेका मध्ये दिनानाथलाई मोरङ विराटनगर महानगरपालिका ५ दामाबन्दी चोकबाट अनिल कुमारलाई काठमाडौं महानगरपालिका १३ बल्खु र नासिर आलमलाई मोरङकै विराटनगर महानगरपालिका १७ मटेरूवाबाट पक्राउ गरिएको हो ।
घटनाको अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका–८ गोठाटार बस्ने तेह्रथुम सक्रान्ति–२ घर भएका ६३ वर्षीय मोहन लिम्बूको पनि हत्या गरी गाडिएको भनी खुल्न आएपछि महानगरीय अपराध महाशाखा काठमाडौंसँग समन्वय गरी ललितपुर गोदावरी नगरपालिका–१२ ठेचो चरङ्गखेलस्थित गोदाम घर रहेको कम्पाउण्डमा उनको शव फेला परेको हो । खाल्डो खन्न र पुर्न प्रयोग भएको १ थान कोदालो तथा ६ प्याकेट आयो नुन प्रहरीले बरामद गरेको छ ।
कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले उनीहरुको हत्या गरिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: माघ २२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend