धरानः धरानमा पनि सरस्वती पूजा मनाइएको छ । विद्या खानीकी देवी सरस्वती माताको आइतबार धरानका केही विद्यालयहरुले सरस्वती पूजा मनाएका छन् ।
धरानमा सरकारी स्कुलले खासै सरस्वती पूजा मनाएनन् भने केही निजी विद्यालयहरुले मात्रै सरस्वती पूजा मनाएका छन् । कोरोना कहरका कारण सरकारले माघ मसान्तसम्म स्कुल नखोल्न भनेको छ । तर केही विद्यालयहरुले स्वास्थ्य मापदण्ड अपनाएर सरस्वती पूजा मनाउनुका साथै अक्षरारम्भ समेत गराएका छन् ।
आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वती पूजाकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि छ । धरान आदर्शमा करिब ३० जना विद्यार्थीले अक्षरारम्भ गरेको प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले जानकारी दिए । यस्तै, युरेका स्कुल, नवोदय विद्या मन्दिर, सुनाखरी एकेडेमीलगायतमा पनि धेरै विद्यार्थीले अक्षरारम्भ गरेका थिए । अधिकांश स्कुलले नयाँ भर्ना निःशुल्क गराएका हुन् । त्यसैले पनि धरानका अधिकांश अभिभावक साना, साना बालबालिकासँगै उपस्थित थिए ।
श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने, पढ्नमा तीक्ष्ण र विद्यार्थी मेधावी बन्ने विश्वास छ । आजकै दिनबाट सूर्य उत्तरतिर लागि दिन लामो हुने र बसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।
यस दिन विवाह, ब्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई अक्षरराम्भ गर्नुका साथै नाक, कान छेडिदिने पनि गरिन्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र वुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । सरस्वती पूजा या श्रीपञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज
धरान-१६ स्थित नवोदयमा सरस्वती पूजा













धरान-१ स्थित युरेका माविमा सरस्वती पूजा








धरान-१२ स्थित एम्स एकेडेमीमा सरस्वती पूजा







धरान-१२ स्थित सुनाखरी एकेडेमीमा सरस्वती पूजा



धरान-१ स्थित धरान आदर्शमा सरस्वती पूजा

















