धनकुटाः प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा धनकुटामा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । प्रेस चौतारी धनकुटाले संगठनको स्थापना दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो ।
प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरुबीच शुभकामना आदानप्रदान गरियो । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य एवं धनकुटा इञ्चार्ज नैन विश्वकर्माले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याए ।
प्रेस चौतारीका केन्द्रीय सदस्य सन्तोष रुचालले प्रेस चौतारी नेपाली पत्रकारहरुको अगुवा सङ्गठन भएकाले चौतारीले सधै पत्रकारहरुको हकहितमा अग्रणी भूमिका निर्वाह गर्ने बताए । नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष हिमा चेम्जोङले पत्रकारका संगठनहरुले श्रमजीवी पत्रकारहरुका समस्या र मुद्दामा गम्भीर भएर लाग्नुपर्ने खाँचो औल्याइन् । पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राईले पत्रकारहरुका सबै संगठनको मुख्य उद्देश्य प्रेस स्वतन्त्रताको ग्यारेन्टी गराउनुपर्ने भएकाले यसका लागि सबै पत्रकारहरु लागिपर्नुपर्ने बताए ।
प्रेस चौतारीका पूर्व अध्यक्ष एवं सल्लाहकार भेषराज कट्टेलले पत्रकारहरुले अरुका कमजोरी औल्याउने मात्र नभई आफ्ना कमीकमजोरीलाई पनि सुधार्दै पेशालाई मर्यादित बनाउनुपर्ने धारणा राखे । पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष सञ्जयसन्तोषी राईले अन्याय, अत्याचारको विरोध गर्दै आवाजविहीनको आवाजका रुपमा प्रस्तुत हुन नयाँ पुस्ताका पत्रकारहरुलाई सुझाव दिए । प्रेस युनियनका उपाध्यक्ष विजयसन्तोषी राईले राजनीति र पत्रकारिताबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको भन्दै पत्रकारितालाई राजनीतिबाट अलग्याउन नसकिने जिकिर गरे ।
पत्रकार महासंघ धनकुटाका निवर्तमान अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले स्थानीय सरकारको रुपमा रहेका पालिकाहरुले सञ्चार क्षेत्रलाई कञ्जुस्याइँ नगरी सहयोग गर्नुपर्ने उल्लेख गरे । पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष खगेन्द्रप्रसाद घिमिरेले पत्रकारहरुले सामाजिक सञ्जालमा पनि सोच, विचार गरेर मात्र धारणा व्यक्त गर्नुपर्नेमा जोड दिए ।
फोनिजका प्रदेश अध्यक्ष सन्तबीर लामाले प्रेस स्वतन्त्रता बढ्नुको सट्टा खुम्चिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै यो विषयमा पत्रकारहरु सचेत हुनुपर्ने बताए । प्रेस चौतारीका धनकुटा अध्यक्ष रविन कट्टेलले पत्रकार महासंघमा राजनीति गर्नका लागि गैरपत्रकारलाई सदस्य बनाउने होडबाजी अन्त्य गर्दै वास्तविक पत्रकार उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रेस युनियनका पूर्व अध्यक्ष यानिन्द्र तिगेला, प्रेस संगठनका पूर्व अध्यक्ष ईश्वर थापा, फोनिजका अध्यक्ष विनु चेम्जोङ, रेडियो मकालुका अध्यक्ष सोविस चेम्जोङ र रेडियो लालीगुराँसका स्टेशन म्यानेजर विदुर खवासले प्रेस चौतारीलाई स्थापना दिवसको शुभकामना व्यक्त गर्दै पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् । प्रेस चौतारी धनकुटाका सह–सचिव माया राउतले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष विश्वराज श्रेष्ठले मन्तब्यमार्फत् अतिथी र सहभागीहरुलाई स्वागत गरेका थिए । २०५५ माघ २२ गते स्थापना भएको प्रेस चौतारी नेपाल २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको हो । धनकुटासहित देशभर विभिन्न कार्यक्रम गरेर २४ औं स्थापना दिवस मनाइएको प्रेस चौतारीले जनाएको छ ।