Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

हाम्रो कोशी आवाज
माघ २६ २०७८, बुधबार
दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

धरानः मोरङको पथरीमा दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा प्रहरी हवल्दार वसन्त बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका ३८ वर्षीय हवल्दार बोहोराको बुधबार दिउँसो नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनी सवार प्रदेश १–०२–०४७ प ८६६७ मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८५७८ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । उनी राजविराजस्थित उच्च अदालतमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
उनीसँगै दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्का ३९ वर्षीय हवल्दार दानबहादुर योगी समेत घाइते भएका छन् । हाल उनको नोवेलमै उपचार भइरहेको छ । दुर्घटनामा मोटरसाइकलमा समेत आगलागी भएको थियो । यसक्रममा सो आगलागीमा परी मृतक बोहोराको शरीर पनि जल्न पुगेको थियो । दुर्घटनापछि ट्रकका चालक भने फरार भएका छन् ।
यस्तै, झापाको बिर्तामोड–६ बुट्टाबारीमा सवारी दुर्घटना भएको छ । पूर्व–पश्चिम लोकमार्गमा पश्चिम आउँदै गरेको मे१ज १९१८ नम्बरको म्याजिक भ्यानले विपरीत दिशाबाट जाँदै गरेको प्र.१–०१–०१३ प ७३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक अर्जुनधारा–११ का ५४ वर्षीय दिलीप राजवंशीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बिर्तामोड ४ का ४९ वर्षीय कृष्ण राजवंशी समेत घाइते भएका छन् ।

प्रकाशित मिति: माघ २६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend