धरानः धरान-१४ का योमनी दाहालले घर बनाएको धेरै महिना भइसकेको छ तर उनले बिजुली बाल्न पाएका छैनन् ।
उनले हाम्रो कोशी आवाज डटकमसँगको सम्पर्कमा भने, ‘होइन के कारणले मिटर नआएको हो यो विषयमा चासो लिनुपरयो ।’ उनले गत मङ्सिर १९ गते नै बिजुली जोड्ने भनेर रकम बुझाएपनि अहिलेसम्म बिजुली बाल्न नपाएको दुखेसो पोखे ।
‘प्रायःजसो बिजुली अफिस धाइरहन्छु’, उनले भने, ‘तर पनि अहिलेसम्म बिजुली आएको छैन, मिटर छैन भनेर टार्दै आएका छन्, बिजुलीको पोल हेरेरै चित्त बुझाउँदै आएका छौं ।’
धरान-१७ का एक उपभोक्ताले नाम नछाप्ने शर्तमा भने, ‘घर बनाएको लगभग वर्षदिन पुग्न लाग्यो, बिजुली बाल्न नपाएको लगभग ८ महिना भइसक्यो, बत्तीबिना टुकीको भरमा बसिरहेका छौं ।’
यो समस्या उनको मात्रै होइन धरानका करिब ८ सय बढी घर परिवारको हो । धराने जनताको बिजुली बत्ती बाल्ने सपना अधूरै छ । प्रत्येक ठाउँमा पोल भएपनि बत्ती बाल्ने आशामा रहेका स्थानीयको सपना मिटर अभावका कारण अधूरै रहेको हो ।
महिनौं बितिसक्दासमेत स्थानीयले विद्युत जडानका लागि मिटर पाउन सकेका छैनन् । घर आसपासमा बिजुलीका पोल र तारसँगै विद्युत विस्तार गरिएको भएपनि मिटर अभावका कारण बत्ती जडान गर्न नपाउँदा स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युतका पोल र तार जडान सुरु भएसँगै बिजुली बत्ती बाल्न पाउने आशामा घरमा वाइरिङलगायत आवश्यक उपकरण जडान गरेका स्थानीयको सपना मिटर अभावका कारण पूरा हुन सकेको छैन ।
दाहालअनुसार घरको छेउमै बिजुलीको पोल बिस्तार भइसक्दा समेत मिटर अभावका कारण मोबाइल चार्ज गर्नकै लागि अर्काको घरमा चहार्नुपर्ने बाध्यता छ ।
यता नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख सागर महर्जनले धरानमा मात्र नभई विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा समेत असारदेखि मिटरको अभाव रहेको बताएका छन् ।
मिटर अभावका कारण धराने अँध्यारोमा बस्न बाध्य भइरहेकाले मिटर उपलब्ध गराउन माथिल्लो निकायमा पटक पटक आग्रह गरेको भएपनि कहिलेसम्म मिटर आइपुग्छ भन्ने यकिन नभएको उनको भनाइ छ । ‘यो धरानको मात्रै समस्या रहेन’, उनले भने, ‘मिटरका लागि तागेता गरेकै छौं तर आइपुग्दैन, यहाँ ८ सय भन्दा बढी परिवारले मिटर जडानका लागि माग गरिसक्नुभएको छ, हेरौं सक्दो पहल भइरहेको छ ।’