धरानः बराहक्षेत्रमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बराहक्षेत्र–२ पुर्नबासका उज्ज्वल लुइँटेल रहेको प्रहरीले जनाएको छ । बाख्रालाई घाँस काट्न भनेर आदर्श सामुदायिक वन क्षेत्रमा पुगेका उनी भोर्लाको रुखमा चढेर घाँस काट्दै गर्दा झरेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए ।
बाख्रा चराउन पुगेका मानिसहरुले उनी रुखबाट लडेको देखेपछि आफन्त त्यहाँ पुगेर प्रहरीलाई खबर गरेका थिए । घटनाको सूचना पाएको प्रहरीले त्यहाँ पुगेर शवको मुचुल्का गरी पोष्टमार्टका लागि धरानस्थित बीपी प्रतिष्ठान ल्याएको थियो । घटना बुधबार दिउँसो साढे १ बजेको घटेको र मृतकको बिहीबार दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।