खोटाङः प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले गठबन्धन जोगाउने नाममा एसीसी पास गर्न नहुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङले शनिवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको शुभम–फाउण्डेसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले गठबन्धन जोगाउन भरमग्दुर प्रयास गर्ने तर यसैका लागि एसीसी पास गर्न नहुने धारणा राखेका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य राईले वर्तमान गठबन्धन टुटे पनि यथास्थितिमा एसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको स्पष्ट पारेका छन् । ‘लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र नेपाली जनताको सार्वभौमसत्ताको सुरक्षा गर्नका लागि गठबन्धन अहिलेको आवश्यकता हो । गठबन्धन जोगाउन हामी भरपुर प्रयास गर्छौँ । तर एसीसी पास गर्ने सवालमा हो भने गठबन्धन हामीलाई आवश्यक छैन,’ मन्त्री राईले भने, ‘एसीसी यथास्थितिमा पास गर्न हुँदैन । एसीसी मुलुकको सन्दर्भमा उपयुक्त छैन । यथास्थितिमा एसीसी पास गरियो भने मुलुकको सार्वभौमसत्ता एवं लोकतान्त्रिक गणतन्त्रका लागि प्रतिकूल हुने प्रस्ट छ । अहिले देशीविदेशी शक्तिहरू यो गठबन्धनलाई कसरी भत्काउन सकिन्छ भनेर लागिरहेका छन् । त्यसतर्फ सजग हुन जरुरी छ ।’
अमेरिकाको एउटा संस्थाबाट ५५–५६ अर्बको सहयोगका लागि नेपालको संसदले पास गर्नुपर्ने अभिसप्तता भोग्नुपर्ने अवस्था दुःखद भएको मन्त्री राईको भनाइ छ ।