धरानः बैंकहरुले फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएपछि अब १२ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण पाउने सम्भावना सकिएको छ ।
बैंकहरुमा लगानीयोग्य रकम सकिएसँगै निक्षेपको ब्याजदर बढाएपछि यसको असर कर्जाको ब्याजमा पर्ने भएको हो । पुस मसान्तसम्म बैंकहरुको आधार दर (बेसरेट) औषतमा ८.४० प्रतिशत छ । जसमा न्यूनतम ६.६० प्रतिशतदेखि ९.७४ प्रतिशतसम्म छ ।
त्यसैगरी स्प्रेडरेट औषतमा ३ प्रतिशतभन्दाबढी छ । जसमा बैंकहरुले स्प्रेडदर २.३१ प्रतिशतदेखि ४.३८ प्रतिशतसम्म राखेका छन् । बैंकहरुले आफ्नो आधार दरमा औषतमा न्यूनतम ३ देखि ४ प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याज निर्धारण गर्दै आएका छन् । यस आधारमा अब बैंकबाट लिने कर्जाको ब्याज कम्तीमा १२ प्रतिशत हुनेछ । बैंकहरुले फागनुदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएकाले कर्जाको ब्याजदर आगामी दिनमा अझै बढ्ने देखिएको छ ।
बैंकहरुले प्रत्येक तीन महिनामा बेसरेट प्रकाशित गर्नुपर्छ । बैंकहरुले अब चैत महिनामा बेसरेट प्रकाशित गर्नेछन् । चैत महिनामा बेसरेट बढ्यो भने कर्जाको ब्याजदर स्वतः बढ्नेछ । बैंकहरुले लगानीयोग्य रकम (तरलता)को अवस्था हेरेर आधार दर संशोधन गर्छन् । आधारदर बढ्यो भने कर्जाको ब्याजदर बढ्छ भने घट्दा घट्छ ।
ब्याजदर बढ्ने भएपछि उद्योगी व्यवसायी निकै त्रसित बनेका छन् । बैंकहरुले ब्याजदर बढाउन थालेपछि निजी क्षेत्रले ब्याजदर नबढाउन बैंकर्स संघलाई आग्रह गरेको थियो । साथै राष्ट्र बैंकको पनि ध्यानाकर्षण गराएको थियो । तर निजी क्षेत्रको उक्त मागलाई बेवास्ता गर्दै बैंकर्स संघले कर्जाको ब्याजदर बढाएको हो ।
व्यवसायीहरुले उद्योग व्यवसाय कोरोना पूर्वको अवस्थामा सञ्चालन हुन नसकेको बेला ब्याजवृद्धिले उद्योग व्यवसाय क्षेत्र थप जर्जर अवस्थामा पुग्ने र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याजदर पुनः बढेमा यो क्षेत्र थप धराशायी हुने अवस्था सिर्जना हुने भन्दै उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति आउन सक्ने भन्दै ध्यानाकर्षण गराएका थिए ।
ब्याजदरको वृद्धिको असर आइतबारको सेयर बजारमा समेत देखिएको छ । आइतबार नेप्से परिसूचक १०० अंकले ओरालो लागेको छ । ‘हरेक त्रैमासमा ब्याजदर वृद्धि हुदै जाने हो भने उद्योग व्यवसाय गर्न सम्भव छैन । ब्याजदरमा अस्थिरता कायम रहँदा मुलुकमा व्यवसायिक लागत प्रक्षेपण गर्न सक्ने अवस्था समेत हुँदैन,’ नेपाल उद्योग वाणिज्य महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान हुँदैन, ब्याजदर वृद्धिलगायतका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दबाबमा पर्दा यसको प्रत्यक्ष असर मुुलुकको उत्पादन र अर्थतन्त्रमा पर्दछ । व्यापार घाटाको दायरा निकै बढिरहेको अवस्थामा, पछिल्लो पटक निक्षेपमा ब्याजदर वृद्धिको निर्णयबाट कर्जाको ब्याजदर वृद्धि हुन गई उद्योग व्यवसाय थप शिथिल हुने र त्यसले आन्तरिक उत्पादन नै ठप्प हुन जाने अवस्था आउनेतर्फ हामी सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराउछौं,’ विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले पनि बैंकले बढाएको ब्याजदरमा राष्ट्र बैंकले ध्यान दिन नसकेको बताए । ब्याजदर बढ्दा अर्थतन्त्रमा नकारात्मक असर पर्ने उनको भनाइ छ । ‘उर्जा तथा उद्योगमा यसले निकै असर पार्ने छ’, उनले भने ‘उद्योग व्यवसाय क्षेत्रमा असर पर्ने थाहा पाएर पनि नेपाल राष्ट्र बैंकले ध्यान दिएन, राष्ट्र बैंकले ध्यान नदिँदा अर्थतन्त्र खुम्च्याउने काम भयो ।’
कोरोनाले शिथिल बनेका व्यवसायी तंग्रिने प्रयास गरिरहेको समयमा बैंकहरुले बढाएको कर्जाले व्यवसायी पुरानै अवस्थामा फर्कन झनै समस्या हुने र अर्थतन्त्र चलायमान हुन अझै समस्या हुने अग्रवालको भनाइ छ ।