Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मदन भण्डारी राजमार्गः दमकदेखि धरानसम्मको काम धमाधम

हाम्रो कोशी आवाज
फाल्गुन २ २०७८, सोमबार
मदन भण्डारी राजमार्गः दमकदेखि धरानसम्मको काम धमाधम

धरानः संघीय सरकारको गौरवको आयोजना मदन भण्डारी राजमार्ग निर्माणको कामले प्रदेश १ मा गति लिएको छ। सरकारले पाँच वर्षअघि घोषणा गरेको मदन भण्डारी राजमार्गको पूर्वी रुटको काम शु्रू भएको ६ महिना भएको छ । सडक निर्माणको विषयमा पूर्वी रुटको सर्भेका क्रममा नै विवाद उब्जिएपछि पाँच वर्षयतादेखि सडक निर्माणको काम अघि बढ्न सकेको थिएन ।
मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले इलाम, झापा, मोरङ र सुनसरीमा पुरानै सर्भे अनुसार निर्माणको काम शुरू भएको हो ।  आयोजनाले पूर्वको झापाबाट धरानसम्म १ सय ३१ किलोमिटर सडक निर्माणका लागि काम तीव्र पारेको हो ।
मदन भण्डारी राजमार्ग आयोजनाले एक वर्षमा पुरा गर्नुपर्ने प्रगति ६ महिनामा नै पुरा गरेको जनाएको छ । प्रदेश १ को इलाम, झापा, मोरङ र सुनसरी जिल्ला भित्र पर्ने १३१ किलोमिटर सडकको ६५ किलोमिटर ठेक्का लगाएर काम शुरू भएको हो । ठेक्का सम्झौता भएको ६५ किलोमिटरमा २० प्रतिशत काम पुरा भएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका प्रमुख सुबोध देवकोटाले जानकारी दिए ।
झापाको  मेची डाँडादेखि सुनसरीको चतरासम्मको १३१ किलोमिटर  मध्ये ६५ किलोमिटरमा यसै वर्ष काम शुरू भएको देवकोटाले बताए । ‘हाम्रो एक वर्षमा पुरा गर्नु पर्ने वार्षिक प्रगति ६ महिनामा पुरा भएको छ,’ प्रमुख देवकोटाले भने, ‘एक वर्षमा दोब्बर काम हुने देखियो ।’
सम्झौता भएका स्थानमा सुनसरीको चतरादेखि मोरङ हुँदै बेलडाँगीसम्म र झापाकै शान्तिनगरदेखि मेचीडाँडासम्म काम भइरहेको छ। यो क्षेत्रमा ३५ वटा पुलहरू रहेकोमा ३१ वटाको काम भइरहेको कार्यालय प्रमुख देवकोटाले जानकारी दिए ।
तीन वर्षभित्र राजमार्ग निर्माण सक्ने सरकारको योजना छ । झापाको बाहुन डाँगीदेखि डडेल्धुराको रुपाल जोड्ने प्रस्तावित मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा भएको कामले स्थानीयलाई पनि उत्साहित बनाएको छ । खास गरी चुरे क्षेत्रका विकट भेगलाई जोड्ने राजमार्ग निर्माण समयमै सम्पन्न हुनु पर्ने मोरङको लेटाङकी सीता भण्डारीले बताइन् ।
झापाको दमक, शान्तिनगर, मोरङको मधुमल्ला, लेटाङ, केराबारी, मिक्लाजुङ र सुनसरीको धरान हुँदै सडक खण्डको निर्माणको काम भइरहेको प्रमुख देवकोटाको भनाई छ। कुल १ हजार २ सय किलोमिटर लम्बाइको प्रस्तावित राजमार्गलाई १० खण्डमा विभाजन गरेर निर्माण पूरा गर्ने सरकारको योजना छ ।
त्यही योजना अनुसार अहिले पूर्वी लाइनको काम भइरहेको छ ।  कतिपय ठाउँमा  पुल निर्माणमा योजना डुप्लीकेशन समेत हुँदै आएको छ । योजना दोहोरो परेको ठाउँमा मदन भण्डारी राजमार्ग आयोजनाले सम्बन्धित स्थानीय तह र प्रदेश सरकारलाई पत्राचार गरेको भए पनि उनीहरूले बेवास्ता गरेको परियोजना कार्यालयले जनाएको छ।
‘यो राजमार्ग भएको कारण गुणस्तरमा कर्मी हुन हुँदैन भन्ने हाम्रो मान्यता हो,’ देवकोटाले भने, ‘स्थानीय स्तरमा बनाइएका पुलहरू कमसल खालको हुँदा राजमार्गको मापदण्ड नपुग्ने हुँदा हामीले हाम्रै हिसाबले  बताएका छौ, स्थानीय र प्रदेश सरकारलाई जानकारी गराएका छौँ ।’

प्रकाशित मिति: फाल्गुन २ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend