विराटनगरः विराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्रीविक्रम थापा (गोदार) र उनकी धर्मपत्नी श्री विमला थापा तथा छोरी श्री बेनिजा थापाद्वारा ५ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन् ।
सवारी दुर्घटनामा परी दिवङ्गत भएका स्व. विप्लव थापा (गोदार) को स्मृतिमा उनका परिवारजनले “‘विप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार’ कोषको स्थापना गरेका हुन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा बुधबार दाता परिवारले सो कोषको रकम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीलाई हस्तान्तरण गरेका थिए । पुरस्कार १ नं. प्रदेशअन्तर्गत ट्राफिक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने प्रहरी जवानदेखि वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जा सम्मको १ (एक) जना प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष नगद रु. २५ हजार तथा प्रशंसा–पत्रद्वारा सम्मान प्रदान गरिने छ ।
यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनी अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले रु. ५ लाखको अक्षकोष स्थापना गरी २०७९ सालको असोज मसान्तमा मनाउने ६७ औं प्रहरी दिवसबाट “ विप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कारको सुरुवात गरिने गरी सम्झौता भएको जनाइएको छ ।