विराटनगरः इलाका प्रहरी कार्यालय रंगेली, मोरङमा कार्यरत प्रहरी निरीक्षक अनमोल खड्का र १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर दरबन्दी भई अनुसन्धान समूहमा कार्यरत प्रहरी नायव निरीक्षक फिरोजकुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
उनीहरुले मोरङको धनपालथान गाउँपालिका वडा नम्वर–७ स्थित उखुबारीमा दुईवटा मृत शव र जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नम्वर–१२ स्थित गोदाम घरमा गाडेको अवस्थामा अर्को मृत लाश समेत उत्खनन् गरी घटनाको सुक्ष्मरुपमा अनुसन्धान गरी सो घटनामा संलग्न प्रतिवादीहरु तथा अन्य विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानुनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनीहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङकन गर्दै २०७८ साल माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।