Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुन किन्ने कम, बेच्ने बढी

हाम्रो कोशी आवाज
फाल्गुन ५ २०७८, बिहिबार
सुन किन्ने कम, बेच्ने बढी

धरानः नेपाली बजारमा सुनको कारोबार सुस्ताएको छ । बजारमा आत्यवश्यक परेको अवस्थाबाहेक सुन किन्न ग्राहक आएका छैनन् । कोरोनाको त्राससंगै सुनको मूल्यमा आएको उतार चढावको नेपाली बजारमा देखिएको सुनचाँदी व्यवसायीहरु बताउँछन ।

मूल्यमा आएको वृद्धि र कोरोना महामारीका कारण आम मानिसको जीवन शैलीमा आएको परिर्वतनका कारण बजारमा दैनिक सुनको माग घटिरहेको व्यवसायी बताउँछन् । मंसिर महिनामा सुनको कारोबार राम्रै भए पनि अहिले भने सुस्ताएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्य बताउँछन् । उनी भन्छन्, ‘गत मंसिर महिनाको तुलनामा अहिले सुनको कारोबार सुस्ताएको छ । अहिले अत्यावश्यक बाहेकका अन्य ग्राहकहरु सुन खरिदका लागि आएका छैनन ।’

अहिले दैनिक करिब ३० किलोको हाराहारीमा सुनको कारोबार भइरहेको अध्यक्ष शाक्यले जानकारी दिए । गत मंसिर महिनाको तुलनामा भने यो कारोबार धेरै नै कम रहेको उनको भनाई छ । गत मंसिर महिनामा सुनको कारोबार दैनिक करिब ४५ केजीसम्म हुने गरेको थियो ।

‘मंसिरमा बिहेको लगन धेरै हुने भएकाले सुन बजारमा चहलपहल र माग दुवै बढेको थियो । तर, अहिले सुनचाँदीको कारोबार सुस्ताएको छ । सुनको मूल्य तोलामै लाखौँ रुपैयाँ पुग्न लागेकोले पनि कारोबार सुस्ताएको हुनसक्छ । यससंगै कोरोनाको त्रासले गर्दा कारोबारमा मन्दी आएको हो’, उनले भने ।

उनका अनुसार माघ र फागुन महिनामा पनि विवाहका लगनहरु हुने गर्छन् । तर, यस वर्षको यी महिनाहरुमा भने सुनको कारोबार भने कम भएको छ । अहिले बजारमा सुन किन्नेभन्दा पुराना गहना सफा गर्ने र बेच्न खाज्नेहरू बढी आउने गरेका छन् । सुनको मूल्य निरन्तर बढिरहँदा ग्राहकमा किन्ने क्षमता पनि घटेको छ । मूल्यकै कारण विगतमा पाँच तोला सुन किन्न सक्ने ग्राहकले अहिले दुई–तीन तोलामा चित्त बुझाउनु पर्ने अवस्था छ ।

त्यस्तै, अध्यक्ष शाक्यले चाँदीको कारोबार पनि घटेको जानकारी दिए । उनले भने, ‘सुनभन्दा पनि चाँदीको कारोबार झनै धेरै सुस्ताएको छ । गत महिना दैनिक २ हजार किलो कारोबार भइरहेको चाँदी अहिले घटेर दैनिक करिब ६ सय किलोमा सिमित भएको छ ।’

साथै उनले चाँदीको आयात कम भएका कारण चाँदीको अभाव रहेको समेत बताए । उनले भने, ‘हस्तकलाको सामाग्रीमा पनि चाँदीको प्रयोग हुन्छ । तर, नेपाली बजारमा चाँदी आयात कम भएका कारण अभाव भइरहेको छ । यसले गर्दा आपूर्तिमा समेत सर्टेज भइरहेको अवस्था छ ।’

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९५ हजार ६ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२९५रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन ५ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend