धरानः सुनसरी र मोरङको छुट्टा छुट्टै दुई स्थानमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना चालकको मृत्यु भएको छ ।
शुक्रबार बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका–८ स्थित कोशी लोकमार्गमा को२०प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक विराटनगर–१४ का ३० वर्षीय श्याम कामतको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो ।
यस्तै, मोरङको जहदा गाउँपालिका–६ स्थित भित्री सडक खण्डमा सडक साइडमा राखेको गोरुगाडामा को.३५प ३४०५ नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाइकल चालक विराटनगर–१९ का २६ वर्षीय लक्ष्मी सरदार गम्भिर घाइते भई उपचारको लागि कोशी अस्पताल पुरयाउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । दुर्घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
यस्तै, इलामको सूर्योदय नगरपालिका–३ स्थित फिकल–पशुपतिनगर सडक खण्डमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१ का २३ वर्षीय सौगात राई रहेका छन । शुक्राबार साढे ४ बजे पशुपतिनगरतर्फ जाँदै गरेको को१ज ३५८९ नम्बरको बलेरो गाडीले विपरीत दिशाबाट आउँदै गरेको मे.११प ८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सौगात राई र पछाडि सवार रहेकी २५ वर्षीया सम्झना राई घाईते भएका थिए ।
घाइते दुवैलाई उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा सौगात राईको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।