बिर्तामोडः बालबालिकालाई स्कुल बसबाटै अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई स्कुले बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ । बिहीबार बिहान विद्यालय जान घरबाट निस्केका उनीहरूलाई आफ्नै फुपाजुले फोटो खिच्ने बहानामा अपहरण गरेको प्रहरीले जनाएको छ । बिहीबार बिहान ९ बजेदेखि सम्पर्कविहीन भएका सैनामैना नगरपालिका–६ बस्ने पुष्पा दाहालकी छोरी र छोरालाई झापाको अनारमनीबाट उद्धार गरिएको हो ।
घटनामा संलग्न अभियुक्त खिमबहादुर पौडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सैनामैना–६ दुधराक्षस्थित घरबाट सैनामैना–४ बुद्धनगरको प्रभात बोर्डिङ स्कुल गएका १२ वर्षीय प्रसिद्ध दाहाल र उनकी ९ वर्षीया प्रशन्न दाहाल फागुन ५ गतेदेखि हराइरहेका थिए ।
प्रहरी उपरीक्षक मनोज केसीका अनुसार लु१ख ६५६८ नम्बरको बसमा चढेर गएका उनीहरू साँझ घर नपुगेपछि अभिभावक स्कुलमा पुगेका थिए । तर, बसका स्टाफले दुवै बालबालिकालाई फोटो खिच्न भनी अभिभावकले बसबाट उतारेर लगेको बताएका थिए ।
त्यसदिन बालबालिकालाई लिएर पौडेल बुटवलबाट बिर्तामोड छुट्ने बस काउन्टरमा पुगेका थिए । टिकट काटेर उनी बिर्तामोड पुगेका थिए । त्यही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले बुटवलबाट आउने गाडीको निगरानी गरेको थियो ।
बुझ्ने क्रममा पौडेललाई बालबालिकासहित बसपार्कमा फेला पारिएको थियो । पौडेललाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान सुरू गरिएको प्रहरी उपरीक्षक केसीले बताए । केसीका अनुसार पौडेल बालबालिकाका फुपाजू हुन् । उनीहरूको पारिवारिक दुश्मनी थियो ।
केही दिनअघि पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई सार्वजनिक अपराधमा मुद्दा चलाइएको थियो । ‘छुटेपछि माइती पक्षसँग मिलेर आफूलाई थुनाएको भन्दै पौडेलले बदला लिने योजनाका साथ बालबालिकाको अपहरण गरेको खुलेको छ,’ केसीले भने ।