Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

थुनामा परेका दाजुभाइ छुटाउने भन्दै ठगी

हाम्रो कोशी आवाज
फाल्गुन ८ २०७८, आइतबार
थुनामा परेका दाजुभाइ छुटाउने भन्दै ठगी

सुनसरीः कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई छुटाइदिने भन्दै ३३ लाख रूपैयाँ ठगी गर्ने व्यक्ति सुनसरीको इटहरीबाट पक्राउ परेका छन् ।
इटहरी-१२ खनार बस्ने तारा कार्की पुरीलाई ‘हाम्रो दह्रो मान्छे छ, न्यायाधीश र प्रहरीसँग राम्रो सम्बन्ध छ’ भन्दै उनले ठगेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
कर्तव्य ज्यान मुद्दामा तेह्रथुम कारागारमा थुनामा रहेका श्रीमान सुरेन्द्र पुरी र देवर बालकृष्ण पुरीलाई थुनामुक्त गराइदिन्छौं भनी इटहरी–१२ बस्ने भरत चौधरी र इटहरी–२० बस्ने मन्दु भन्ने ३९ वर्षीय जसबहादुर लिम्बूले ३३ लाख ठगी गरी फरार रहेको र फरार रहेका प्रतिवादीमध्ये मन्दु भन्ने जसबहादुरलाई पक्राउ गरी ठगी कसुरमा सुनसरी जिल्ला अदालतवाट म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए । थुनामा परेका दुवैजना दाजुभाइ समेत रहेको प्रहरीले जनाएको छ ।
रकम असुल्ने अर्का व्यक्ति फरार नै रहेको प्रहरीले जनाएको छ । उनको पनि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । उनीहरुले न्यायाधीश र प्रहरीसँग ‘सेटिङ’ मिलाएर छुटाउने भन्दै रकम असुलेका थिए ।
हत्यामा जेल परेका पति र देवरलाई छुटाइदिने भनेर उनीहरुले तारासँग २०७६ साल चैतदेखि २०७८ साल माघ १५ गतेसम्ममा ३३ लाख रूपैयाँ असुलेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । ती महिलाले श्रीमान र देवर नछुटेपछि प्रहरीलाई जानकारी दिएपछि रहस्य खुलेको हो । उनले प्रत्यक्ष भेटेर र आईएमई गरेर लिम्बू र चौधरीलाई रकम बुझाएको पाइएको छ । प्रहरीका अनुसार आईएमई गरेर पठाएको रकमको प्रमाण र ‘बार्गेनिङ’ गरेको अडियो रेकर्ड पनि फेला पारेपछि उनीहरु समातिएका हुन् ।

प्रकाशित मिति: फाल्गुन ८ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend