Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सहचालकको हत्याको आरोपमा सहचालक समातिए

हाम्रो कोशी आवाज
फाल्गुन ८ २०७८, आइतबार
सहचालकको हत्याको आरोपमा सहचालक समातिए

विराटनगरः मोरङको केराबारी गाउँपालिकामा भएको हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन् ।
केराबारी गाउँपालिका ८ का २६ वर्षीय बाबुराम भट्टराईको हत्यामा संलग्न कमल लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारुङले जानकारी दिए ।
प्रहरीका अनुसार यात्रुबसका सहचालक लिम्बूसँग मादकपदार्थ सेवनका क्रममा विवाद भएपछि घटना भएको थियो । सो क्रममा लिम्बूले भट्टराईलाई रडले प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बूविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउने भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत पौष २८ गतेदेखि बेपत्ता भट्टराईको शव प्रहरीले गाउँपालिकास्थित चारकोशे झाडीमा कुहिएको अवस्थामा फेला पारेको थियो । गाउँपालिकामा पौष २३ गतेबाट आयोजना गरिएको मेला हेर्न घरबाट निस्किएका भट्टराई एकाएक बेपत्ता भएको परिवारका सदस्य भनाइ छ । बेपत्ता भट्टराईको शव माघ ९ गते शव चारकोसे जंगलमा भेटिएको थियो । शव सडेर दुर्गन्धित भएको अवस्थामा ढलेको रुखको जराभित्र फेला परेको थियो ।

प्रहरीका अनुसार खोर्साने–केराबारी सडक खण्डको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झन्डै २ किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोसे जंगलमा ढलेको रुखको जराभित्र शव भेटिएपछि भट्टराईको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको थियो ।
शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको थियो ।
गाईवस्तु चराउन गएका केराबारी–८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अनुहार पनि नचिनिने गरी सडेको शवको आफन्त र परिवारका सदस्यमार्फत पहिचान भएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार भट्टराई केराबारी–भोगटेनी–रामपुर चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्थे । प्रहरीका अनुसार भट्टराई पनि केराबारी–भोगटेनी–रामपुर चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्थे ।  घरबाट मच्छिन्द्र मेला हेर्न भनेर गएका उनी एकाएक सम्पर्कविहीन बनेपछि परिवारले इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएको थियो । मच्छिन्द्र मेला पुस २३ गतेदेखि २९ गतेसम्म लागेको थियो । त्यतिबेला मेलामा केही युवाहरुसँग भट्टराईको विवादसमेत भएको प्रहरीले सुइँको पाएको थियो । -शीर्षक परिमार्जित

प्रकाशित मिति: फाल्गुन ८ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend