धरानः बोलेरो गाडीको ठक्करले एक युवा गम्भीर घाइते भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १३ नविन कटुवाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दनुवार चोकनजिकै पछाडिबाट बोलेरोले ठक्कर दिँदा कटुवालको एउटा खुट्टा विभिन्न भागमा भाँचिएको छ भने हड्डी समेत बाहिर निस्किएको छ ।
तीब्र गतिमा रहेको बोलेरो अनियन्त्रित हुँदा अगाडि गुडिरहेको मोटरसाइकलमा सवार कटुवाललाई ठक्कर दिएर भागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।
घटना शनिबार राति साढे ८ बजे भएकाले सवारी साधनको नम्बर भने ठम्याउन नसकिएको प्रहरीले जनाएको छ । घटनापछि मुढा बोकेको बोलेरो भागेको थियो । भाग्दै गर्दा बोलेरोबाट खसेको एउटा मुढासमेत भेटिएको जनाइएको छ ।
गम्भीर घाइते कटुवालको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।