Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लेनदेन नमिलेपछि हत्या

हाम्रो कोशी आवाज
फाल्गुन १० २०७८, मंगलबार
लेनदेन नमिलेपछि हत्या

उदयपुरः उदयपुरको कटारी नगरपालिका– ८ श्रृष्टिको जंगलमा फागुन ७ गते मृत फेला परेका एकब्यक्तिको हत्या भएको पुष्टि भएको छ ।
हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भनिने कमल विक रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । जंगलमा मृत फेला परेका ब्यक्ति भारतको राजस्थानका ५० वर्षीय राम किसन मिणा भएको खुल्न आएसँगै विकलाई पक्राउ गरिएको हो ।
विकले मिणालाई माघ २५ गते घाँटीमा डोरीले कसेर हत्या गरेको खुल्न आएको छ । मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बीचको डास खोलामा निर्माणाधीन रहेको पुलमा पायलिङ मेसिनको काम गर्दै आएका भारतीय नागरिक मिणा माघ २६ गतेदेखि सम्पर्कमा नरहेको भनी पीडितका परिवारले इलाका प्रहरी कार्यालय पथरीमा हुलिया निवेदन दिएसँगै खोजतलासमा खटिएको प्रहरी टोलीले फागुन ९ गते पथरी–८ बाट विकलाई पक्राउ गरेको हो ।
बि.क.लाई पक्राउ गरेसँगै सोधपुछ गर्ने क्रममा लेनदेनको विषयमा वादविवाद हुँदा मिणाको हत्या गरी जंगलमा फालेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पुलको ठेक्का पट्टा गर्ने विक र मृतक मिणाबीच पुलको पिलरको जग खन्ने मेसिन ल्याई काम काज गर्ने भनी सम्झौता भएअनुसार विगत डेढ महिनादेखि मोरङको डास खोलामा काम गर्दै आइरहेका थिए ।
काम गर्ने क्रममा माघ २३ गते कमल विकको वीरगंजमा रहेको अर्को साइड हेर्न भनी मृतकले प्रयोग गर्दै आइरहेको बिआर ०१ बिसी ५६९७ नम्बरको गाडीमा दुवै जना वीरगञ्ज गएको र सो स्थानमा पुगी माघ २५ गते फर्कने क्रममा विकको घर कटारी जाँदै गर्दा बाटोमा लेनदेन सम्बन्धी विवाद भएको थियो ।
विवादकै क्रममा मादक पदार्थ समेत सेवन गरेका विकले रिसको आवेगमा मिणाको घाँटीमा केवल तारको डोरीले कसेर हत्या गरेको र हत्यापश्चात् शवलाई सोही गाडीको डिकीमा ओढ्नेले छोपेर कटारी भन्दा ३० किलोमिटर माथी जंगलमा लगी फालिदिएको खुल्न आएको छ ।
यसरी शवलाई जंगलमा फालेर फर्किएका विकले मृतकले प्रयोग गर्ने मोबाइल फोन कोशी नदीमा फालिदिएको तथा सो नम्बरको गाडी भारतीय बजार भीमनगर लगी बेवारिसे अवस्थामा छोडेर फर्किएको समेत खुल्न आएको छ ।
यसरी जाँदा दुवैजना सँगै गएको र फर्कदा एकजना मात्र फर्किएकोमा अन्य ब्यक्तिहरुले सोधपुछ गर्दा समान लिन भारततर्फ गएको बताउँदै आएका थिए भने लामो समय सम्म सम्पर्कमा नआएपछि मृतकका परिवार खोजतलास गर्दै इलाका प्रहरी कार्यालय पथरीसम्म आए पश्चात् मात्र सो घटनाको रहस्य खुल्न आएको हो । यसरी घटनाबारे खुल्न आएसँगै इलाका प्रहरी कार्यालय कटारीले फागुन ७ गते फेला पारेको थियो ।
कमल विकले प्रहरीसमक्ष हत्या गरेको स्वीकारे पश्चात सो स्थानमा घटना भए नभएको भनी इलाका प्रहरी कार्यालय कटारीसँग समन्वय गर्दा पहिचान नखुलेको शव बेवारिशे अवस्थामा २–३ दिन पहिला फेला परेको र सो शवको फोटो समेत झिकाई मृतकका आफन्तलाई सनाखत गराउदा आफ्नै मान्छेको हो भनी सनाखत गरिदिएसँगै कमल थापा भन्ने कमल विकलाई थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय कटारी तर्फ पठाइएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १० २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend