धरानः धरान-१२ स्थित धरान मेघा कलेजका विद्यार्थीले पिक हस्पिटालिटीको व्यवस्थापनसहितको केही वर्षअघि सञ्चालनमा आएको प्रदेश १ को झापा धुलाबारीस्थित पाँचतारे होटल मेची क्राउनको अवलोकन भ्रमण गरेका छन् ।
कलेजमा होटल म्यानेजमेण्ट पढ्ने विद्यार्थीले सो होटलको अवलोकन गरेको कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए । ‘सैद्धान्तिक ज्ञानमात्रै नभएर व्यवहारिक ज्ञान दिने उद्देश्यले सो होटलको भ्रमण गराइएको हो’, उनले भने, ‘पाँचतारे होटलको व्यवस्थापन, हस्पिटालिटी, होटल चल्ने सिष्टम, पाँचतारे होटलमा लिइने शुल्क, होटल म्यानेजमेन्ट विषयको फ्रन्ट अफिस, हाउस किपिङ, फुड एण्ड वेभरेज र फुड प्रोडक्सन सर्भिसको प्रयोगात्मक सिकाइ आदिबारे महत्वपूर्ण ज्ञान लिएर विद्यार्थी फर्किएका छन् ।’ होटल म्यानेजमेण्टका कोअर्डिनेटर पोषण श्रेष्ठले विद्यार्थीको भ्रमण फलदायी भएको बताए ।
मेची क्राउनमा होटलमा म्यानेजमेन्टमा अध्यनरत् विद्यार्थीको आकर्षण बढेको होटलका प्रबन्धक नितेश पोखरेलले बताए । होटलमा पूर्वका होटल म्यानेजमेन्ट विषय अध्ययन गराउने विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई भ्रमणको लागि ल्याउने गरेको उनले बताए । पूर्वमा पाँचतारे होटल सञ्चालन नहुँदाको अवस्थामा पूर्वका कलेजहरुले काठमाडौं, पोखरा र भारतसम्म विद्यार्थी भ्रमणका लागि लाने गर्दथे । अहिले भने मेची क्राउन एचएमसम्बन्धी विद्यार्थीहरुको लागि अध्ययन भ्रमण र इन्ट्रनसीपको उपयुक्त थलो बनेको छ ।
मेची क्राउनमा अहिले हप्ताको दुईवटा कलेजहरुले विद्यार्थी भ्रमणका लागि ल्याउने गरेको होटलका प्रबन्धक पोखरेलले बताए । पछिल्लो समय होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढेको र पूर्वमा सञ्चालित कलेजका विद्यार्थीहरु होटलमा नै काम गर्ने भएकाले पनि मेची क्राउन सबैको रोजाइ बनेको उनले बताए । डेढ अर्ब लगानीमा सो होटल निर्माण भएको हो ।
निजी हेलिप्याडको व्यवस्था रहेको छ भने कम्तिमा पनि पाँचसय सवारीसाधन पार्किङ गर्न सकिने छ । होटल मेची क्राउनका १०५ कोठा मध्ये ५ मेची सुइट्स रुम, १० वटा एक्जुकेटिभ भिला रुम, १९ मेची क्लब रुम र ७१ वटा डिलक्स रुम उपलब्ध छन् । विवाह, बैठक, सम्मेलन, सेमिनार आदीका लागि पनि यस होटलमा सुबिधा सम्पन्न हलहरु उपलब्ध छन् । यसमा दुईवटा रेष्टुरेन्टसमेत छन् ।









