Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुकुम्बासीको ‘नो लालपुर्जा, नो भोट’

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०७८, बुधबार
सुकुम्बासीको ‘नो लालपुर्जा, नो भोट’

धरानः पटक-पटक लालपुर्जाको आसमा उधारोमा भोट हाल्दै आएको र अब सुकुम्बासीहरुले आउने निर्वाचनमा लालपुर्जा नपाए भोट नहाल्ने सम्मको रणनीति बनाउन लागिपरेको सुकुम्बासीहरुको साझा सङ्गठन नेपाल बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष कुमार कार्कीले बताएका छन् ।
हरेक निर्वाचनमा आश्वासनका भरमा रहेका सुकुम्बासीहरु यो पटक भने देशैभर उधारोमा भोट नहाल्ने योजनाअनुसार ‘नो लालपुर्जा नो भोट’को अभियान चलाइएको उनले जानकारी दिए ।
यसैबीच नेपाल बसोबास बस्ती संरक्षण समाजले बुधबार मोरङको सुन्दरहरैंचा नगरपालिकालाई रयालीसहित ५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । नगरभित्रका सुकुम्बासीहरुले नगर प्रमुख शिव ढकाललाई गेट बाहिर सडकमै बोलाएर समाजका केन्द्रीय अध्यक्ष कार्की र नगर अध्यक्ष शालिकराम विकले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पत्र बुझ्दै मेयर ढकालले आउने निर्वाचनअघि नै लालपुर्जा दिने तयारी रहेको बताए । चर्को नाराबाजी गर्दै गेटमा पुगेका सुकुम्बासीले लालपुर्जा प्राप्तिको अन्तिम लडाइँ लड्ने उद्घोष गरेका थिए । सुन्दरहरैंचालाई लालपुर्जा दिएर सुकुम्बासीमुक्त राष्ट्र घोषणा गर्नुपर्ने आयोगको लामो बाटोलाई छोडेर स्थानीय तहको सिफारिसमा जिल्ला नापी कार्यालयबाट जग्गा नाप्ने र मालपोत कार्यालयबाट सिदा फास्ट ट्रयाकमा लालपुर्जा दिने, सुकुम्बासीका नाममा अब भ्रमको राजनीति नगर्नेलगायतका माग राखी ध्यानाकर्षण गराइएको थियो ।
सुकुम्बासीमुक्त राष्ट्र बनाउनुपर्छ भन्ने अठोटसहित संगठन देशब्यापी आन्दोलनमा लागेको कार्कीले बताए । उनले हरेक निर्वाचनमा आस देखाउने, मत माग्ने र झुक्याउनेहरुको असली रुप सुकुम्बासीले थाहा पाउन थालेकोले अभियान शक्तिशाली हुँदै गएको समेत बताए ।
राजनीतिक पार्टीहरुलाई पनि नैतिक सङ्कट परेको र केही आश लागेको समाजका सुन्दरहरैंचा नगर समिति अध्यक्ष सालिकरामले बताए । कार्यक्रम हरैंचामोडबाट शुरु भएको थियो । रयाली नगर पालिकाको मूलगेटमा पुगेपछि मेयर सडकमै आइपुगेका थिए ।

प्रकाशित मिति: फाल्गुन ११ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend