बिर्तामोडः पूर्वको पर्यटकीय क्षेत्र दोमुखामा भीषण आगलागी भएको छ ।
आगलागीमा परी स्थानीयबासी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट हरि भण्डारीकी श्रीमती ४३ वर्षीया बालिका भण्डारी र छोरी १४ वर्षीया अस्मिता भण्डारी घाइते भएका हुन् । बालिकाको दाहिने हात र अस्मिताको अनुहार र हात जलेको छ । उनीहरुको बिर्तामोडमा रहेको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।
शिवसताक्षी–१० स्थित दोमुखामा गएराति आगलागी हुँदा जलेर आमाछोरी घाइते भएका हुन् । राति ११.३० बजे शिवसताक्षी १० दोमुखामा दोमुखा पर्यटन बोर्डले बनाएको १० कोठाको एकतले भवनमा बिजुली सर्ट भई अचानक आगलागी भएको प्रहरील जनाएको छ । आगलागीबाट सोही घरमा होटल सञ्चालन गर्ने शिवसताक्षी १० दोमुखा बस्ने हरि भण्डारी, जय थपलिया, किशोर लिम्बू, डम्बर मगरको होटल र सोही भवनमा रहेको दोमुखा युवा क्लबको कार्यालय पूर्णरुपमा जलेर नष्ट भएको छ ।
दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाले निर्माण गरेका ती भवन होटलका लागि बहालमा लगाएको थियो । होटलका सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी शुक्रबार बिहान ३ बजे मात्रै नियन्त्रणमा आएको थियो । क्षतिको थप विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।