Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्कुलबाट घर फर्केकी छात्रा घर पुगिनन्

हाम्रो कोशी आवाज
फाल्गुन १३ २०७८, शुक्रबार
स्कुलबाट घर फर्केकी छात्रा घर पुगिनन्

धरानः मोरङको लेटाङ नगरपालिकाकी १२ वर्षीया करुणा राई मृत अवस्थामा फेला परेकी छिन् । लेटाङ–८ अजय राईकी छोरी मृत अवस्थामा फेला परेकी हुन् ।
स्थानीय लालझोडा सामुदायिक जङ्गलमा खाल्डो खनेर ढुङ्गाले थिचेर राखेको अवस्थामा करुणाको शव भेटिएको हो । बुधबारदेखि हराइरहेकी खाल्डोभित्र नाङ्गो अवस्थामा उनको शव भेटिएको हो ।
बालिकाको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । बलात्कारपछि हत्या गरेर उनको शव गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीसहित खोजी गर्ने क्रममा खाल्डो खनेर गाड्दै माथिबाट ढुंगाले छोपेको अवस्थामा वनभित्र निवस्त्र अवस्थामा शव फेला पारेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्यालले जानकारी दिए ।
‘ढुङ्गाले थिचेर राखिएको अवस्थामा शव फेला परेको छ’, उनले फोन सम्पर्कमा हाम्रो कोशी आवाज डटकमसँग भने, ‘अहिले यसै भन्न सकिने अवस्था भने छैन ।’
करुणाको हत्या भएको भन्दै सो विद्यालयका विद्यार्थीले शव उठाउन अवरोध गरेका छन् । उनीहरुले हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । खाल्डोबाट बालिकाको शव उत्खनन गरेर बाहिर निकाल्दा विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका थिए । शव उठाएर अलि तल ल्याएपछि स्थानीयबासी र विद्यार्थीले शव रोकेर राखेको उनले जानकारी दिए ।

‘अहिले पनि प्रदर्शन भइरहेको छ’, उनले भने, ‘शव पोष्टमार्टमका लागि ल्याउन समस्या भइरहेको छ ।’ प्रहरीले शव उत्खनन् गर्दै पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरेपनि अवरोध भइरहेको उनले जानकारी दिए ।
विगत तीन दिनदेखि हराइरहेकी बालिका मृत अवस्थामा फेला परेकी हुन् । शुक्रबार बिहान करुणाको शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । करुणा लेटाङ–८ स्थित जाँते माविमा कक्षा–६ मा अध्ययनरत थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीले भने स्थानीय चारजनालाई आशङ्कामा नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । उनले चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको समेत बताए । ‘चारजनालाई नियन्त्रणमा लिएर सोधपुछ थालिसकेका छौं’, उनले थपे, ‘अहिले नै सबैकुरा भनिहाल्न मिल्दैन ।’
बालिका हराएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए । प्रहरीसहित खोजी गर्ने क्रममा खाल्डो खनेर गाड्दै माथिबाट ढुंगाले छोपेको अवस्थामा वनभित्र निवस्त्र अवस्थामा शव फेला पारेको उनले जानकारी दिए । उनले शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेर गाडेजस्तो देखिएको बताए । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप खुल्ने उनले जानकारी दिए ।
घटनास्थल बालिकाको घरबाट लगभग २ किलोमिटरजति दक्षिणमा पर्छ ।

प्रकाशित मिति: फाल्गुन १३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend