Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जंगलमा छात्राको शव फेलाः बन्यो सहमति

हाम्रो कोशी आवाज
फाल्गुन १३ २०७८, शुक्रबार
जंगलमा छात्राको शव फेलाः बन्यो सहमति

धरानः सहमतिपछि लेटाङमा भएको विद्यार्थीको प्रदर्शन साम्य भएको छ ।
लेटाङ-८ स्थित जाँते माविमा कक्षा-६ मा अध्ययनरत् १२ वर्षीया छात्रा करुणा राईको हत्या भएको भन्दै सो विद्यालयका विद्यार्थीले प्रदर्शन गर्दै शव उठाउन दिएका थिएनन् । हत्यारालाई कारवाहीको माग गरिएको प्रदर्शन अहिले रोकिएको लेटाङका प्रहरी निरीक्षक रोमन अर्यालले जानकारी दिए ।
खाल्डोबाट बालिकाको शव उत्खनन गरेर बाहिर निकाल्दा विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका थिए । शव उठाएर अलि तल ल्याएपछि स्थानीयबासी र विद्यार्थीले शव रोकेर राखेका थिए । ‘अहिले सहमतिपछि अवस्था सामान्य भएको छ’, उनले भने ।
हत्यारा पत्ता लगाइ सार्वजनिक गर्ने, टाढा भएका विद्यार्थीलाई प्रशासनले यातायातको सुविधा दिइने, पीडितलाई क्षतिपुर्ति दिइने भन्ने विषयमा सहमति बनेपछि शव उठाइएको उनले जानकारी दिए । शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकिएको उनले जानकारी दिए । ‘पोष्टमार्टमपछि नै धेरै कुरा खुल्ने भएकोले अहिले धरानस्थित बीपी प्रतिष्ठानमा शव पठाइसकेका छौं’, उनले हाम्रो कोशी आवाज डटकमसँगको कुराकानीमा भने ।
उनले अहिले चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दिए । ‘चारजना पक्राउ परिसकेका छन्’, उनले भने, ‘लगभग घटनाको यथार्थनजिक छौं, उनीहरुलाई सार्वजनिक गर्छौं ।’ उनले भने ।
लेटाङ-८ अजय राईकी छोरी करुणाको स्थानीय लालझोडा सामुदायिक जङ्गलमा खाल्डो खनेर ढुङ्गाले थिचेर राखेको अवस्थामा करुणाको शव भेटिएको थियो । बुधबारदेखि हराइरहेकी खाल्डोभित्र नाङ्गो अवस्थामा उनको शव भेटिएको हो ।
बालिकाको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । बलात्कारपछि हत्या गरेर उनको शव गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीसहित खोजी गर्ने क्रममा खाल्डो खनेर गाड्दै माथिबाट ढुंगाले छोपेको अवस्थामा वनभित्र निवस्त्र अवस्थामा शव फेला पारेको उनले जानकारी दिए । शुक्रबार बिहान करुणाको शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनले शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेर गाडेजस्तो देखिएको बताए । घटनास्थल बालिकाको घरबाट लगभग २ किलोमिटरजति दक्षिणमा पर्छ ।

प्रकाशित मिति: फाल्गुन १३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend