धरानः धरान–१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा करिब दुई महिनादेखि अनाधिकृतरुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरा बनाउने कार्य नरोकिएपछि यसलाई हटाउनका लागि सम्बन्धित निकायले तयारी थालेको छ ।
आइतबार नगर प्रमुख तिलक राईको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले २०७२ सालपछि सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका वस्तीहरु क्रमबद्धरुपमा हटाउने निर्णय गरेको हो ।
सो कार्यको सुरुवात वडा नं. १७ को नयाँ अतिक्रमित क्षेत्रबाट गर्ने निर्णय गरेको छ । धरान उपमहानगरपालिका वडा नं. १७ देवीथान र कालापानीलगायत विभिन्न खोलाहरुको किनारा, बगर र बहाव क्षेत्र अतिक्रमण गरी रातारात बस्ती बस्ने क्रम नरोकिएको बढ्दै गएको हुँदा खुल्ला क्षेत्र र सार्वजनिक जग्गाको संरक्षणमा अवरोध पुगेको, नगरको सुन्दरता कुरुप बन्दै गएकोले जिल्ला तथा धरानका सबै राजनितिक दलहरुले बाधा अवरोधहरुको सामूहिक प्रतिवाद एवं व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैठकले जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरु र राजनीतिक दलहरुको सक्रिय सहभागिता एवं संलग्नता र समन्वयमा सम्पन्न गर्ने समेत निर्णय गरेको हो ।