Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा अपहरणकारीको फन्दाबाट उम्किए बालक

हाम्रो कोशी आवाज
फाल्गुन १६ २०७८, सोमबार
सुनसरीमा अपहरणकारीको फन्दाबाट उम्किए बालक

सुनसरीः सुनसरीमा बालक अपहरणमा संलग्न एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इनरुवा-१० जल्पापुरका इम्तियाज भन्ने इन्जात मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । हरिनगरा ६ बाट १३ वर्षीय बालक धीरजकुमार मेहतालाई अपहरण गरेर लगेको र उनलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
‘हामीले अज्ञात व्यक्तिले मोटरसाइकलमा जबर्जस्ती चढाएर बालक अपहरण गरेको भन्ने सूचना पाएका थियौं’, उनले भने, ‘लगत्तै प्रहरी चौकी भुटाहाको टोली परिचालन भएको थियो । राति करिब ७ बजे हरिनगर १ रामनगर भुटाहा भित्री सडक खण्डमा इन्जातले भारतीय नम्बरको मोटरसाइकलमा बालकलाई चढाउन खोज्दै गरेको भेटियो, तत्काल उद्दार गरेर सोधपुछ गर्दा इन्जातले को२६प ४२२४ नम्बरको मोटरसाइकलमा जबरजस्ती चढाएर लगेको बयान बालकले दिएपछि उनी पक्राउ परेका हुन् ।’
ती बालकका अनुसार मोटरसाइकलबाट उनी भाग्न सफल भएका थिए । उनी भागेपछि इन्जातले मोटरसाइकल बाटोमा रोकेर खोज्न थालेका थिए । त्यही मौकामा उनले सोही मोटरसाइकल लिएर भागेका थिए । मोटरसाइकलमा चाबी पनि छोडिएकोले उनले सो मोटरसाइकल लिएर भागेका थिए ।
एसपी थापाका अनुसार तर, रामनगर भुटाहास्थित भित्री सडकमा सो मोटरसाइकलमा पेट्रोल सकिएको थियो । इन्जात अर्को भारतीय नम्बर प्लेटको मोटरसाइकल लिएर पछ्याउँदै आएर उनलाई भेटेका थिए । इन्जातले पनि बिआर३८यु ३७९९ नम्बरको भारतीय मोटरसाइकलमा बालकलाई पछ्याएका थिए । बालकलाई भेटेपछि जर्बजस्ती मोटरसाइकलमा चढाएर लैजाने प्रयास गर्दै गर्दा प्रहरीले फेला पारेर उनलाई पक्राउ गरेको थियो ।
एसपी थापाका अनुसार पक्राउ परेका मियाँविरुद्ध मुलुकी फौजदारी अपराधसंहिता २०७४ को परिच्छेद १७ अनुसार अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढेको छ । उनलाई आइतबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend