Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एक गुन तिर्न कति बैगुन सहन्छौ, कमरेड ?

हाम्रो कोशी आवाज
फाल्गुन १७ २०७८, मंगलबार
एक गुन तिर्न कति बैगुन सहन्छौ, कमरेड ?

तिमी तिनको बलीको बोको हैनौ
तिमी तिनको गुलाम हैनौ
तिमी तिनको गोठालो हैनौ
तिमी तिनको हली हैनौ
तिमी तिनको दास हैनौ
तिमी तिनको सर्कसको सिंह हैनौ
तिमीले जन्मिँदै औंठाछाप पनि लगाएको छैनौ

ए क्रान्तिकारी योद्दा आँखा खोल
आफ्नो त्याग तपस्या पसिनालाई सोच
तिम्रो बलिदान र सहिदलाई बेचेर खाए
मीठो बोलीले जहिल्यै झुक्याएर आए
पहिले काठमाडौंको रिङरोड घेर्न लगाए
अहिले बानेश्वरमा उफारे
तिमीलाई चटके बनाए
उता खुस्क्क साम्राज्यवादको अगाडि
सहीछाप गरे

यिनको बहुरुपलाई फर्केर हेर त
आफूलाई लेनिन ठाने, माओ माने
होचीमिन र चेग्वेरा नि फिका भए
विस्तारवाद र साम्राज्यवाद विरोधीको नायक ठाने
आज तिनकै अगाडि लम्पसार बने
जसको पालामा युद्ध छेडे
अनि तिनकै पाउमा दाम चढाए
क्रान्तिको हुङ्कार जहाँबाट पिटे
अन्तिममा त्यही आएर सिध्याए

तिम्रो खुन पसिनाको सम्मान छैन
तिम्रो परिवारको चिन्ता छैन
तिम्रो योगदानको हिसाब छैन
सहिदको बलिदानीको मूल्य छैन
आऊ अब एउटा नयाँ घर बनाऔं
देशको माटो सुहाउँदो पार्टी बनाऔं
एक गुन तिर्न कति बैगुन सहन्छौ कमरेड ?

प्रकाशित मिति: फाल्गुन १७ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend