Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा उत्पादन स्वाट्टै घट्यो

हाम्रो कोशी आवाज
फाल्गुन १७ २०७८, मंगलबार
सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा उत्पादन स्वाट्टै घट्यो

सुनसरीः सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगले ‘सिजन’मा पनि ६० प्रतिशतभन्दा बढी क्षमतामा उत्पादन गर्न सकेका छैनन् । सामान्य अवस्थामा चौबीसै घण्टा चल्ने उद्योगहरू अहिले १६ घण्टा मात्र सञ्चालनमा छन् । उद्योगीले दशैं, तिहारपछि औद्योगिक पूर्ण क्षमतामै उत्पादन हुने अपेक्षा गरे आधामै खुम्चनु परेको छ ।
मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य पवन सारडाले सरकारले पूँजीगत खर्च गर्न नसकेकाले निर्माण सामग्रीको बजारसँगै उत्पादन पनि खुम्चिएको बताए । सरकारले पूँजीगत बजेट खर्च गर्न नसक्दा विकासको काम कम हुने र विकासको काम कम हुँदा रड, सिमेन्ट, इँटा लगायतका उद्योगको उत्पादन घट्ने उनको भनाइ छ । त्यसैले उद्योगहरू ६० प्रतिशतभन्दा कम क्षमतामा चल्नुपरेको बताए ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालका अनुसार सरकारले अपेक्षाकृत पर्याप्त विकास खर्च गर्न नसक्दा फलामे डन्डी, सिमेन्ट, प्लास्टिक पाइप, एंगल, च्यानल लगायत निर्माण सामग्रीका उद्योगले उत्पादन घटाएका छन् । रिजालले आफ्नो उद्योगको ‘रिजालको’ ब्रान्डको पाइपको उत्पादन पनि ३० प्रतिशतले कटौती गरिएको बताए । यही बेला बैंकको किस्ता तिर्नुपर्ने र बैंकले ओभरड्राफ्ट तथा टीआर कर्जा दिन अनुदार नीति अपनाएकाले यसको सीधा असर औद्योगिक उत्पादनमा परेको उनको भनाइ छ ।
उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले सरकारी विकास खर्च हुन नसकेपछि पर्याप्त रोजगारी सृजना नभएको बताए । ‘सोहीकारण सर्वसाधारणले गर्ने किनमेलमा असर परेको छ,’ उनले भने, ‘सर्वसाधारणले न्यूनतम आवश्यकताका वस्तुवाहेक अन्य मालवस्तुको खरीद गर्न छाडेका छन् ।’ हिउँद लागेपछि औद्योगिक उत्पादन ९५ प्रतिशतसम्म पुग्नुपर्नेमा यसपटक फागुन लाग्दासम्म ५० देखि ६० प्रतिशतमा रहेको दाबी राठीले गरे । बजारको माग घटेकाले अहिले उद्योगको उत्पादनमा ह्रास आएको उनले बताए । उनका अनुसार बैंकको ऋण प्रवाहमा समस्या, सरकारी खर्चको अभाव र रेमिट्यान्समा कमीले मालवस्तुको माग घट्दै गएको छ ।
कोरोना संक्रमणको तेस्रो लहरले खाद्यान्नलाई समेत असर पुर्‍याएको उनले बताए । ठूला भोज, वनभोज आदि कार्यक्रम हुन नसक्दा खाद्यान्न, खाद्यवस्तु र खानेतेलले पनि उत्पादन घटाएका छन् ।

प्रकाशित मिति: फाल्गुन १७ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend